काठमाडौं । साउन २९ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘लज्जावती’ प्रेमकथामा आधारित पारिवारिक चलचित्र रहेको निर्माण पक्षले जनाएको छ।
निर्देशक राजबहादुर सानेको निर्देशन तथा कमलप्रसाद शर्माको निर्माणमा तयार भएको चलचित्रमा प्रेमसँगै पारिवारिक सम्बन्ध, संघर्ष, त्याग, आत्मीयता र नेपाली समाजका विविध पक्षलाई प्रस्तुत गरिएको निर्माण पक्षको भनाइ छ।
चलचित्रमा श्रीकृष्ण निरौला, मुकुन भुसाल, मेनुका माझी, जानुका विश्वकर्मा, विनोद श्रेष्ठलगायत कलाकारको अभिनय रहेको छ।
चलचित्रबारे नेपाल न्यूज बैंकसँग कुरा गर्दै निर्माता कमलप्रसाद शर्माले ‘लज्जावती’मा गरिएको करिब दुई करोड रुपैयाँको लगानी सुरक्षित हुने वा नहुने कुरा अब दर्शकको निर्णयमा निर्भर रहेको बताएका छन्।
निर्माण टिमले आफ्नो तर्फबाट चलचित्रको कथा, प्रस्तुति, गीत, ट्रेलर तथा प्रचारप्रसारमा मेहनत गरिसकेको शर्माले बताए। चलचित्रका गीत तथा ट्रेलरले पाएको प्रतिक्रियाले निर्माण टिम उत्साहित भए पनि अन्ततः चलचित्रको व्यापारका लागि दर्शक हलसम्म पुग्नुपर्ने उनको भनाइ छ।
‘दर्शक हलसम्म गइदिनुभयो भने लगानी अटोमेटिक उठ्छ। त्यसैले अहिले हामीलाई सबैभन्दा धेरै दर्शकको साथ र सहयोग चाहिएको छ,’ शर्माले भने।
‘लज्जावती’ साउन २९ गतेदेखि नेपालका विभिन्न हलमा प्रदर्शनमा आउने तयारीमा छ। निर्माण पक्षले चलचित्रलाई नेपालमा मात्र नभई विदेशमा रहेका नेपाली दर्शकमाझ पनि पुर्याउने तयारी गरेको जनाएको छ।
निर्माता शर्माले देश–विदेशमा रहेका सम्पूर्ण दर्शकलाई साउन २९ गते हलसम्म पुगेर चलचित्र हेरिदिन आग्रह गरेका छन्।
‘देश–विदेशमा रहनुभएका सम्पूर्ण दर्शकलाई साउन २९ गते हलमा आएर ‘लज्जावती’ हेरिदिनुहोस् भन्न चाहन्छु। तपाईंहरूको साथ, सहयोग र मायाको अहिले हामीलाई एकदमै धेरै खाँचो छ,’ उनले भने।



































