काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार १३९ जना सवारी चालक पछिल्लो २४ घण्टामा कारबाहीमा परेका छन्।
आइतबार बिहानसम्म उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाउने ७९ जना चालक कारबाहीमा परेका छन्। यस्तै, सिसिटिभीमार्फत ९८ जना र रातोबत्ती उल्लंघन गर्ने ७६ जना चालकलाई कारबाही गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी, तीव्र गतिमा सवारी चलाउने १८४ जना, हर्न निषेध उल्लंघन गर्ने २४ जना, लेन क्रस गर्ने १९ जना, सवारीको अवस्था ठीक नभएका २३ जना र एकतर्फी सडकमा नियम उल्लंघन गर्ने २३ जना चालक कारबाहीमा परेका छन्।
अन्य विभिन्न ट्राफिक नियम उल्लंघनमा ६१३ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनीकरण तथा सवारी आवागमनलाई व्यवस्थित बनाउन उपत्यकाका विभिन्न स्थानमा नियमित जाँच तथा निगरानीलाई निरन्तरता दिइरहेको जनाएको छ।



































