इथानोल मिश्रण नीति बने पनि कार्यान्वयन सुस्त, उद्योगीहरू लगानीका लागि पर्खाइमा

इथानोल मिश्रण नीति बने पनि कार्यान्वयन सुस्त, उद्योगीहरू लगानीका लागि पर्खाइमा

काठमाडौं। सरकारले पेट्रोलमा इथानोल मिश्रण गर्ने नीति ल्याएको लामो समय बितिसक्दा पनि कार्यान्वयन प्रक्रिया अघि बढ्न नसकेको भन्दै उद्योगीहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा नभएकाले इथानोल उद्योग स्थापना र उत्पादन सुरु हुन नसकेको उनीहरूको भनाइ छ।

कियान केमिकल्स इन्डस्ट्रिज प्रालिका अध्यक्ष बेद प्रसाद खरेलका अनुसार इथानोल मिश्रणसम्बन्धी नीति राजपत्रमा प्रकाशित भइसके पनि उद्योग स्थापना गर्न आवश्यक वातावरण अझै तयार भएको छैन। सरकारले लगानीकर्तालाई औपचारिक रूपमा आह्वान गर्ने, इथानोलको मूल्य निर्धारण गर्ने संयन्त्र गठन गर्ने तथा नेपाल आयल निगममार्फत खरिद सम्झौता गर्ने प्रक्रिया अघि नबढेकाले उद्योगीहरू अन्योलमा रहेको उनले बताए।

उनका अनुसार उद्योग मन्त्रालयका सचिवको अध्यक्षतामा मूल्य निर्धारण समिति गठन गर्ने व्यवस्था भए पनि त्यसको काम अघि बढेको छैन। मूल्य निर्धारण, मन्त्रिपरिषद्को निर्णय र नेपाल आयल निगमसँग खरिद सम्झौता हुन नसक्दा सम्पूर्ण प्रक्रिया रोकिएको उनले बताए।

खरेलले लगानीको वातावरण बनेमा निजी क्षेत्र इथानोल उद्योगमा लगानी गर्न तयार रहेको उल्लेख गर्दै कियान केमिकल्ससहितका लगानीकर्ताले नेपाल आयल निगममा दुई पटकसम्म निवेदन दिइसकेको जानकारी दिए।

सरकारले पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रण गर्ने लक्ष्य लिएको छ। खरेलका अनुसार उक्त लक्ष्य कार्यान्वयन भए वार्षिक करिब १६–१७ अर्ब रुपैयाँ बराबरको पेट्रोल आयात प्रतिस्थापन गर्न सकिनेछ। लक्ष्य पूरा गर्न तीनदेखि पाँचवटा ठूला इथानोल उद्योग आवश्यक पर्ने र प्रत्येक उद्योगमा करिब ३ देखि ३.५ अर्ब रुपैयाँ लगानी लाग्ने उनले बताए। यसबाट १०–१५ अर्ब रुपैयाँसम्म निजी लगानी भित्रिने तथा २०–२५ हजार प्रत्यक्ष रोजगारी सिर्जना हुने उनको दाबी छ।

इथानोल मिश्रणले सवारीसाधनमा असर गर्ने भन्ने धारणा सही नभएको खरेलले बताए। उनका अनुसार अमेरिका, ब्राजिललगायत धेरै देशमा लामो समयदेखि इथानोल मिश्रित पेट्रोल प्रयोग हुँदै आएको छ। नेपालले प्रस्ताव गरेको १० प्रतिशत मिश्रणका लागि अधिकांश सवारीसाधनमा कुनै विशेष प्राविधिक परिवर्तन आवश्यक नपर्ने उनले स्पष्ट पारे।

उनले इथानोलले कार्बन उत्सर्जन तथा वायु प्रदूषण घटाउन पनि सहयोग गर्ने बताए। अक्सिजनको मात्रा बढी हुने भएकाले इथानोल मिश्रणले स्वच्छ इन्धनको रूपमा काम गर्ने र नेपालको कार्बन न्यूनीकरण लक्ष्यमा समेत योगदान पुग्ने उनको भनाइ छ।

उद्योगीहरूले इथानोल उद्योगको विकासका लागि सरकारले मूल्य निर्धारण, लगानी सहजीकरण र खरिद सुनिश्चिततासम्बन्धी निर्णय शीघ्र कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्। उनीहरूका अनुसार नीति कार्यान्वयनमा तीव्रता आए इथानोलले ऊर्जा सुरक्षा, उद्योग विस्तार, रोजगारी सिर्जना तथा विदेशी मुद्रा बचतमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्छ।

Tokha