काठमाडौं । समाज कल्याण परिषद्ले भृकुटीमण्डपस्थित काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय मा लगाएको ताला खोलेको छ। पुस्तकालय पुनः सञ्चालनमा ल्याउने सहमति भएपछि परिषद्ले बुधबार ताल्चा खोलेको हो।
समाज कल्याण परिषद्ले गत चैत ३ गते पुस्तकालयले भाडाबापतको बक्यौता रकम नतिरेको भन्दै पुस्तकालयमा तालाबन्दी गरेको थियो। लामो समयदेखि बन्द रहेको पुस्तकालय पुनः सञ्चालन गर्ने विषयमा मंगलबार सहमति भएपछि ताला खोल्ने निर्णय गरिएको हो।
तालाबन्दीका कारण नियमित अध्ययन, अनुसन्धान र पुस्तक सेवा प्रभावित हुँदै आएको थियो। ताला खुलेसँगै अब पुस्तकालयका नियमित गतिविधि पुनः सञ्चालन हुने अपेक्षा गरिएको छ।
समाज कल्याण परिषद् र पुस्तकालय व्यवस्थापनबीच भएको सहमतिअनुसार बक्यौता व्यवस्थापन, सञ्चालन व्यवस्था तथा आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने विषयमा प्रक्रिया अघि बढाइने जनाइएको छ।
भृकुटीमण्डपस्थित काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय लामो समयदेखि विद्यार्थी, अनुसन्धानकर्ता तथा सर्वसाधारणका लागि अध्ययनको महत्वपूर्ण केन्द्रका रूपमा रहँदै आएको छ।



































