गाजाबाट सेना फिर्ता गर्न इजरायल असहमत

गाजाबाट सेना फिर्ता गर्न इजरायल असहमत

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु ले हमास पूर्ण रूपमा निःशस्त्र नभएसम्म गाजाबाट इजरायली सेना फिर्ता नहुने बताएका छन्।

नेतन्याहुले इजरायली सेनालाई आफ्नो सुरक्षा, भूभाग र नागरिकको संरक्षणका लागि आवश्यक सबै कदम चाल्न निर्देशन दिइएको बताएका छन्। मंगलबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको भिडियो सन्देशमा उनले इजरायल डिफेन्स फोर्स (आईडीएफ) लाई आवश्यक उपाय अपनाउन निर्देशन दिएको उल्लेख गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले गाजामा हमाससहित अन्य सशस्त्र समूहको पूर्ण निःशस्त्रीकरण गर्ने उद्देश्यसहित तयार पारिएको प्रस्ताव सार्वजनिक गरेका थिए। उक्त प्रस्तावबारे प्रतिक्रिया दिँदै नेतन्याहुले अमेरिकाबाट मस्यौदा प्राप्त भए पनि इजरायलले त्यसमा सहमति नजनाएको स्पष्ट पारे।

“यो हाम्रो मस्यौदा होइन। हामीले आफ्ना टिप्पणीहरू पठाएका छौँ,” नेतन्याहुले भने।

यसअघि ट्रम्पले सार्वजनिक गरेको सम्झौतापछि हमासले गाजा युद्धविरामको दोस्रो चरणका लागि तयार गरिएको कार्ययोजनामा सहमति जनाएको जनाएको थियो। तर उसले हतियार व्यवस्थापनसम्बन्धी विषयमा केही सर्त अघि सारेको थियो।

हमासले इजरायली आक्रमण पूर्ण रूपमा रोक्नुपर्ने, गाजाबाट इजरायली सेना फिर्ता हुनुपर्ने र पुनर्निर्माण प्रक्रियामा ठोस प्रगति हुनुपर्ने सर्त पूरा भएपछि मात्र हतियारसम्बन्धी व्यवस्था अघि बढाउन सकिने जनाएको छ।

यसैबीच, पछिल्ला दिनमा गाजामा भएका इजरायली हवाई आक्रमणमा दर्जनौँ मानिसको मृत्यु भएको समाचार सार्वजनिक भएका छन्। मृत्यु हुनेमा बालबालिका र सर्वसाधारणसमेत रहेको बताइएको छ।

घटनापछि गाजा युद्धविराम वार्तामा मध्यस्थता गर्दै आएका कतार, इजिप्ट र टर्कीले संयुक्त रूपमा इजरायली आक्रमणको निन्दा गरेका छन्। उनीहरूले युद्धविराम प्रक्रियालाई कमजोर पार्ने गतिविधि रोक्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन्।

गाजामा जारी द्वन्द्व अन्त्यका लागि विभिन्न चरणमा वार्ता भइरहे पनि सेना फिर्ता, हमासको हतियार व्यवस्थापन र पुनर्निर्माणका विषयमा इजरायल र हमासबीच अझै गहिरो मतभेद कायम रहेको छ।

– सीसीटीभी प्लस

Tokha