नबिल बैंकको नाफा ३३.५० प्रतिशतले बढ्यो, लाभांश क्षमता १९.१० रुपैयाँ

नबिल बैंकको नाफा ३३.५० प्रतिशतले बढ्यो, लाभांश क्षमता १९.१० रुपैयाँ

काठमाडौं, साउन २० / नबिल बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा, सञ्चालन आम्दानी र लाभांश वितरण क्षमतामा उल्लेखनीय सुधार भएको जनाएको छ।

बैंकका अनुसार समीक्षा अवधिमा खुद नाफा ३३.५० प्रतिशतले बढेर ७ अर्ब ९० करोड ५७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ९२ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

खुद ब्याज आम्दानीमा वृद्धि र कर्जा नोक्सानी व्यवस्था (इम्पेयरमेन्ट चार्ज) मा कमी आएकाले नाफामा उल्लेख्य सुधार भएको बैंकले जनाएको छ। समीक्षा अवधिमा खुद ब्याज आम्दानी १६ अर्ब ३२ करोड रुपैयाँबाट बढेर १७ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ भने इम्पेयरमेन्ट चार्ज ४ अर्ब २० करोड रुपैयाँबाट घटेर २ अर्ब ६७ करोड रुपैयाँमा झरेको छ।

यससँगै बैंकको सञ्चालन नाफा २५.२२ प्रतिशतले वृद्धि भई ११ अर्ब ५६ करोड ४५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा सञ्चालन नाफा ९ अर्ब २३ करोड ५४ लाख रुपैयाँ रहेको थियो।

वित्तीय सूचकमा सुधारसँगै बैंकको लाभांश वितरण क्षमता पनि बलियो बनेको छ। नियामकीय समायोजनपछि बैंकको वितरणयोग्य नाफा ५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ। यस आधारमा प्रतिशेयर वितरणयोग्य नाफा १९ रुपैयाँ १० पैसा कायम भएको छ, जसले आगामी वार्षिक साधारणसभाबाट आकर्षक लाभांश वितरण गर्ने सम्भावना देखाएको छ।

समीक्षा अवधिमा बैंकको निक्षेप १२.९५ प्रतिशतले बढेर ५ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह १२ प्रतिशतले वृद्धि भई ४ खर्ब ६० अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। कुल सम्पत्ति १५.३८ प्रतिशतले बढेर ७ खर्ब ३४ अर्ब ७३ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ।

बैंकको चुक्ता पूँजी ३२ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको छ भने सञ्चित नाफा र विभिन्न जगेडा कोषसहित कुल इक्विटी ७१ अर्ब ९० करोड ६५ लाख रुपैयाँ पुगेको छ।

सम्पत्ति गुणस्तरतर्फ पनि सुधार देखिएको छ। खराब कर्जा (एनपीएल) अनुपात ४.४८ प्रतिशतबाट घटेर ४.२० प्रतिशतमा झरेको छ भने नेट एनपीएल ०.५८ प्रतिशतमा सीमित रहेको छ।

चौथो त्रैमाससम्म बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) २८ रुपैयाँ ३६ पैसा, प्रतिशेयर नेटवर्थ २४७ रुपैयाँ २८ पैसा, प्रतिशेयर कुल सम्पत्तिको मूल्य २ हजार ७१५ रुपैयाँ ५० पैसा तथा तरलता अनुपात २८.८७ प्रतिशत कायम रहेको बैंकले जनाएको छ।

Tokha