नर्सिङ सुधारको माग चर्कियो, वीर अस्पतालमा नर्सहरूको विरोध प्रदर्शन

नर्सिङ सुधारको माग चर्कियो, वीर अस्पतालमा नर्सहरूको विरोध प्रदर्शन

काठमाडौं । नर्सिङ क्षेत्रका विभिन्न समस्या समाधान र १५ बुँदे माग कार्यान्वयनको माग गर्दै आन्दोलनरत नर्सहरूले सोमबार काठमाडौंस्थित वीर अस्पताल परिसरमा प्रदर्शन गरेका छन्। नर्सिङ पेसाको सुधार, न्यूनतम पारिश्रमिकको सुनिश्चितता तथा श्रमशोषणको अन्त्यको माग गर्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन्।

 

आन्दोलनको नेतृत्व गरिरहेकी नर्स ज्योति रानाभाटको आमरण अनशन सोमबार पाँचौँ दिनमा प्रवेश गरेको छ। आन्दोलनरत नर्सहरूले सरकारले आफ्ना मागप्रति बेवास्ता गरेको भन्दै दबाब बढाउन वीर अस्पतालमा प्रदर्शन गरेका हुन्।

 

प्रदर्शनका क्रममा सहभागी नर्सहरूले ‘१५ बुँदे माग पूरा गर’, ‘ज्योतिको जीवन बचाऊ’, ‘न्यायमा ढिलाइ, जीवनमा जोखिम’, ‘नर्सिङ सुधारको स्पष्ट रोडम्याप बनाऊ’ र ‘नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ’ लगायतका सन्देश लेखिएका प्लेकार्ड बोकेका थिए।

 

उनीहरूको प्रमुख मागमा नर्सहरूको न्यूनतम पारिश्रमिकको सुनिश्चितता, श्रमशोषणको अन्त्य, सुरक्षित र सम्मानजनक कार्य वातावरण, नर्सिङ पेसाको मर्यादा कायम तथा नर्सिङ क्षेत्र सुधारका लागि स्पष्ट सरकारी नीति लागू गर्नुपर्ने विषय समावेश छन्।

 

आन्दोलनरत नर्सहरूले आफ्ना १५ बुँदे माग सम्बोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिने चेतावनी दिएका छन्। उनीहरूले सरकारले नर्सिङ क्षेत्रका समस्यालाई गम्भीर रूपमा लिएर तत्काल वार्तामार्फत समाधान खोज्नुपर्नेमा जोड दिएका छन्।

Tokha