मुगु । मुगुको मुगुम कार्मारोङ गाउँपालिका–५ स्थित पुलु बजारमा आइतबार राति एक्कासी आएको सुक्खा पहिरोका कारण स्थानीय बासिन्दा रातारात घर छाड्न बाध्य भएका छन्। गाउँपालिका कार्यालय नजिकैको डाँडाबाट ढुङ्गा खस्न थालेपछि सम्भावित ठूलो दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै स्थानीयहरू सुरक्षित स्थानतर्फ सरेका हुन्।
स्थानीयका अनुसार आइतबार राति करिब ८ः३० बजेदेखि डाँडाबाट निरन्तर ढुङ्गा खस्न थालेपछि बजार क्षेत्रमा त्रास फैलिएको थियो। जोखिम बढ्दै गएपछि परिवारसहित घर छाडेर सुरक्षित स्थानमा जान बाध्य भएका कारण पुलु बजार रातभर सुनसान बनेको थियो।
मुगुम कार्मारोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द रावलले ढुङ्गा खस्ने क्रम सुरु भएपछि स्थानीयलाई जोखिमयुक्त क्षेत्रबाट तत्काल बाहिर निस्कन र सुरक्षित स्थानमा बस्न आग्रह गरिएको जानकारी दिए। उनले सम्बन्धित निकायसँग समन्वय गरी जोखिमको थप मूल्याङ्कन तथा आवश्यक सुरक्षा व्यवस्थापनका लागि पहल भइरहेको बताए।
केही दिनअघि पनि सोही क्षेत्रमा गएको पहिरोमा परी ३ वर्षीय एक बालकको ज्यान गएको थियो भने ६ वटा घर पूर्ण रूपमा क्षति पुगेका थिए। त्यसयता पनि वर्षासँगै पहिरो र ढुङ्गा खस्ने जोखिम कायमै रहेकाले स्थानीयमा त्रास बढेको छ।
स्थानीय प्रशासनले प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन, अनावश्यक रूपमा जोखिमयुक्त स्थानमा नजान तथा आवश्यकता परे थप उद्धार र सुरक्षा व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको जनाएको छ। वर्षायामभर पहाडी तथा हिमाली जिल्लामा पहिरो र ढुङ्गा खस्ने जोखिम उच्च रहने भएकाले सम्बन्धित निकायले सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।



































