विराटनगर, / सुनसरीको देवानगन्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति भएको गोलीकाण्डमा घाइते भएका अर्का एक युवकको पनि उपचारका क्रममा मृत्यु भएको छ। यससँगै उक्त घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ।
मोरङ प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) मकेन्द्रकुमार मिश्रका अनुसार देवानगन्ज–३ निवासी २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार दिउँसो विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो।
प्रहरीका अनुसार जयप्रकाशको पेटमा गोली लागेको थियो। घटनाको भोलिपल्ट सोमबार उनको शल्यक्रिया गरिएको थियो। शल्यक्रियापछि पनि स्वास्थ्य अवस्था अत्यन्त गम्भीर रहेकाले उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो। उपचारका सबै प्रयास असफल भएपछि बिहीबार उनको निधन भएको प्रहरीले जनाएको छ। हाल उनको शव पोस्टमार्टमका लागि न्यूरो अस्पतालमै राखिएको छ।
यसअघि सोही घटनामा गोली लागेर गम्भीर घाइते भएका देवानगन्ज–४ निवासी २५ वर्षीय ओमप्रकाश मेहताको घटनाकै राति मृत्यु भएको थियो। उनी घटनास्थलबाट अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
आइतबार राति कप्तानगञ्ज क्षेत्रमा दुई समुदायबीच उत्पन्न विवादले उग्र रूप लिएपछि झडप भएको थियो। झडप बढ्दै गएपछि स्थिति नियन्त्रणबाहिर जाने अवस्था देखिएपछि सशस्त्र प्रहरी बलले भीड नियन्त्रणका लागि हवाई फायर गरेको जनाएको छ। त्यसक्रममा गोली लागेर १० जना युवा घाइते भएका थिए।
घटनामा घाइते भएका १० जनामध्ये:२ जनाको मृत्यु भइसकेको छ।बाँकी ८ जना विभिन्न अस्पतालमा उपचाररत छन्।केही घाइतेको अवस्था अझै गम्भीर रहेको सुरक्षा स्रोतले जनाएको छ।
घटनापछि सोमबार र मंगलबार सुनसरीका विभिन्न स्थानमा आगजनी, तोडफोड, लुटपाट तथा व्यक्ति लक्षित आक्रमणका घटना भएका थिए। त्यसपछि जिल्लाको सुरक्षा अवस्था तनावग्रस्त बनेको थियो।
स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको थियो, जुन अझै कायम छ। सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काका अनुसार बुधबारदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकायको कडा परिचालनपछि अवस्था क्रमशः सामान्य बन्दै गएको छ।
यद्यपि, मोरङसहित केही जिल्लामा घटनाको विरोधमा प्रदर्शनहरू जारी रहेका छन्। मोरङ प्रशासनले सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई संयमता अपनाउन र कुनै पनि अफवाहमा विश्वास नगर्न आग्रह गरेको छ।
प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ। गोली कसरी लाग्यो, झडपको वास्तविक कारण के थियो र घटनामा कसको भूमिका थियो भन्ने विषयमा अनुसन्धान भइरहेको छ। साथै, घटनाका सबै पक्षको निष्पक्ष छानबिन गरिने सुरक्षा निकायले जनाएको छ।



































