‘मन बिनाको धन–२’ मा जोडिए सेलिब्रेटी हेयरस्टाइलिस्ट राम ठाकुर, फिल्ममा अभिनयसमेत गर्ने

‘मन बिनाको धन–२’ मा जोडिए सेलिब्रेटी हेयरस्टाइलिस्ट राम ठाकुर, फिल्ममा अभिनयसमेत गर्ने

 

काठमाडौं / निर्देशक तथा संगीतकार टंक बुढाथोकीको निर्देशनमा निर्माण हुन लागेको नेपाली फिल्म ‘मन बिनाको धन–२’ मा चर्चित हेयरस्टाइलिस्ट राम ठाकुर जोडिएका छन्।

 

टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्मका लागि बुढाथोकीले रामलाई हेयरस्टाइलिङ विभागको जिम्मेवारीसहित औपचारिक रूपमा टिममा स्वागत गरेका हुन्। लामो समयदेखि आफ्ना फिल्म तथा म्युजिक भिडियोमा हेयरस्टाइलिङको जिम्मेवारी सम्हाल्दै आएका रामलाई पुनः फिल्ममा जोड्न पाउँदा खुसी लागेको निर्देशक बुढाथोकीले बताएका छन्।

 

बुढाथोकीले रामसँग आफ्नो लामो समयदेखिको सहकार्य रहेको उल्लेख गर्दै फिल्म र म्युजिक भिडियो दुवै क्षेत्रमा उनको कामको प्रशंसा गरे। उनले भने, “मैले रामजीसँग लामो समयदेखि काम गरिरहेको छु। मेरा फिल्म र भिडियोमा मात्र होइन, व्यक्तिगत रूपमा पनि उहाँ नै मेरो हेयरस्टाइलिस्ट हुनुहुन्छ। पुनः फिल्मको हेयर विभागको जिम्मेवारी दिन पाउँदा खुसी लागेको छ। उहाँले गर्ने कामको प्रशंसा हुनेछ, साथै फिल्ममा उहाँको अभिनय पनि रहनेछ।”

 

फिल्मसँग जोडिन पाउँदा राम ठाकुरले पनि खुसी व्यक्त गरेका छन्। उनले टंक बुढाथोकीसँग हेयरस्टाइलिङमार्फत सुरु भएको सहकार्य अहिले फिल्मसम्म आइपुगेको बताए।

 

उनले भने, “टंकसरसँग उहाँको हेयर स्टाइलिङ गर्ने क्रममा जोडिएको थिएँ। विस्तारै उहाँका म्युजिक भिडियो र फिल्ममा काम गर्ने अवसर पाएँ। पुनः दिनुभएको अवसरमा सक्दो मेहनत गर्नेछु।”

 

राजेश हमाल र निखिल उप्रेतीका हेयरस्टाइलिस्टका रूपमा परिचित

 

राम ठाकुर नेपाली मनोरञ्जन क्षेत्रमा सेलिब्रेटी हेयरस्टाइलिस्टका रूपमा परिचित छन्। उनले अभिनेता राजेश हमाल र निखिल उप्रेतीसँग दुई दशकभन्दा बढी समयदेखि काम गर्दै आएका छन्।

 

उनले नेपाली कलाकारसँगै केही स्वदेशी तथा विदेशी कलाकारहरूको हेयर तथा मेकअप विभागमा समेत काम गरिसकेका छन्। यसअघि उनले विभिन्न फिल्ममा अभिनयसमेत गरेका छन्।

 

व्यावसायिक रूपमा उनले काठमाडौंको कोटेश्वरमा दुई वटा आउटलेट सञ्चालन गर्दै आएका छन्, जहाँ सर्वसाधारणले समेत हेयर तथा सौन्दर्यसम्बन्धी सेवा लिँदै आएका छन्।

 

स्टार कलाकारको अभिनय रहने फिल्म

 

‘मन बिनाको धन–२’ मा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकारहरूको अभिनय रहने निर्माण पक्षले जनाएको छ। फिल्ममा सरोज खनाल, गौरी मल्ल, विपिन कार्की, पूजा शर्मा, महेश त्रिपाठी, किरण केसी, प्रकाश घिमिरे र शंकर श्रेष्ठ लगायत कलाकारको अभिनय रहनेछ।

 

फिल्मको कथा निर्देशक टंक बुढाथोकी स्वयंले तयार पारेका हुन् भने पटकथा तथा संवादको जिम्मेवारी शिवम् अधिकारीले सम्हालेका छन्। फिल्मको गीतसंगीत पनि टंक बुढाथोकीकै रहनेछ।

 

फिल्मको निर्माण विष्णुमाया मैनाली बुढाथोकीले गर्दैछिन्। निर्माण टिमका अनुसार फिल्मको छायाङ्कन भदौको पहिलो सातादेखि सुरु हुनेछ। काठमाडौं उपत्यकाका विभिन्न स्थानसँगै मुस्ताङमा समेत फिल्मको मुख्य छायाङ्कन गरिने तयारी रहेको छ।

Tokha