काठमाडौं — प्रमुख निर्वाचन आयुक्त पदका लागि प्रस्तावित मानबहादुर कार्कीले निर्वाचन आयोगको स्वतन्त्रता, निष्पक्षता र विश्वसनीयता लोकतन्त्रको आधारभूत आवश्यकता भएको बताएका छन्।
संसदीय सुनुवाइ समिति (संयुक्त) मा भएको सुनुवाइका क्रममा कार्कीले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गराउनु निर्वाचन आयोगको प्रमुख दायित्व रहेको बताए। उनले निर्वाचनलाई लोकतन्त्रको ‘आँखा र ऐना’ का रूपमा व्याख्या गर्दै निर्वाचन प्रक्रियाप्रति नागरिकको विश्वास कायम राख्न आयोगको भूमिका महत्वपूर्ण हुने धारणा राखे।
कार्कीले निर्वाचन आयोगले आफ्नो काममा निष्पक्षता, पारदर्शिता, स्वतन्त्रता, स्वायत्तता, जवाफदेहिता, विश्वसनीयता र प्रभावकारितालाई मूल आधार बनाउनुपर्ने बताए। उनले आयोगले व्यावसायिकता, सेवामुखी सोच, निष्ठा र सक्षमतालाई समेत प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने उल्लेख गरे।
सुनुवाइका क्रममा उनले आफ्नो शैक्षिक तथा व्यावसायिक पृष्ठभूमिबारे जानकारी दिँदै राजनीतिशास्त्रमा स्नातकोत्तर (एमए) र कानुनमा एलएलएम गरेको बताए। उनले पूर्वाञ्चल ग्रामीण विकास बैंकबाट जागिरे जीवन सुरु गरेको र उक्त संस्था हाल मर्ज भई लघुवित्त संस्थामा रूपान्तरण भएको जानकारी दिए।
कार्कीले २०५२ सालमा निजामती सेवामा प्रवेश गरी २०६३ सालसम्म राजपत्राङ्कित तृतीय श्रेणी अधिकृतका रूपमा काम गरेको बताए। निर्वाचन व्यवस्थापनसम्बन्धी अनुभवका रूपमा उनले २०५४ सालको स्थानीय तह निर्वाचनमा गाविस निर्वाचन अधिकृतको जिम्मेवारी निर्वाह गरेको जानकारी दिए।
उनले निर्वाचन आयोगको स्वतन्त्रता र स्वायत्तता सुनिश्चित हुनुपर्नेमा जोड दिँदै विधिको शासन, नागरिकका मौलिक अधिकार र व्यक्तिगत स्वतन्त्रताको संरक्षण आवश्यक रहेको बताए।
कार्कीका अनुसार लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउन निर्वाचन प्रक्रिया विश्वसनीय हुनुपर्छ। त्यसका लागि आयोगले राजनीतिक प्रभावबाट मुक्त भएर कानुनी आधार, पारदर्शिता र जवाफदेहितासहित काम गर्नुपर्ने उनको भनाइ थियो।
उनले प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी पाएमा आयोगका संस्थागत मूल्य र मान्यतालाई मजबुत बनाउँदै स्वच्छ र विश्वसनीय निर्वाचन प्रणाली विकास गर्न केन्द्रित हुने संकेत गरेका छन्।



































