मानव बेचबिखनको बदलिँदो स्वरूप नियन्त्रण गर्न सामूहिक प्रयास आवश्यक : आईजीपी कार्की

मानव बेचबिखनको बदलिँदो स्वरूप नियन्त्रण गर्न सामूहिक प्रयास आवश्यक : आईजीपी कार्की

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले मानव बेचबिखनको स्वरूप पछिल्लो समय झन् जटिल र प्रविधिमा आधारित बन्दै गएको भन्दै यसको नियन्त्रणका लागि राज्य, सुरक्षा निकाय, नागरिक समाज तथा अन्तर्राष्ट्रिय समुदायबीच समन्वित प्रयास आवश्यक रहेको बताएका छन्।

मंगलबार आयोजित ‘नेपालमा मानव बेचबिखनविरुद्ध लड्न सामूहिक प्रयास’ विषयक कार्यक्रममा बोल्दै आईजीपी कार्कीले मानव बेचबिखन अब परम्परागत अपराधमा मात्र सीमित नरहेको बताए। विगतमा यौन शोषण, जबरजस्ती श्रम, जबरजस्ती विवाह तथा बालबालिकाको बेचबिखनजस्ता गतिविधि प्रमुख रहे पनि पछिल्ला वर्षहरूमा प्रविधिको दुरुपयोग गर्दै नयाँ शैलीका अपराध बढ्दै गएको उनको भनाइ थियो।

उनले आकर्षक तलब र सुविधायुक्त रोजगारीको प्रलोभन देखाएर व्यक्तिलाई विदेश लैजाने, त्यसपछि बन्धक बनाई डिजिटल प्लेटफर्ममार्फत अनलाइन ठगी तथा साइबर स्क्याममा संलग्न गराउने प्रवृत्ति बढिरहेको उल्लेख गरे।

आईजीपी कार्कीका अनुसार मानव बेचबिखन अहिले अन्तर्राष्ट्रिय आपराधिक सञ्जालसँग जोडिएको संगठित अपराधका रूपमा विकसित भइरहेको छ। त्यसैले यसलाई केवल परम्परागत मानव बेचबिखनको दृष्टिकोणबाट मात्र हेर्न नहुने र साइबर अपराध, आर्थिक अपराध तथा अन्तर्राष्ट्रिय अपराधसँगको सम्बन्धलाई समेत ध्यानमा राखेर नियन्त्रणका योजना बनाउनुपर्ने आवश्यकता रहेको उनले बताए।

उनले बदलिँदो चुनौतीसँग जुध्न कानुनी व्यवस्था सुधार, प्रविधिको प्रभावकारी प्रयोग, अनुसन्धान क्षमता विस्तार र अन्तर्राष्ट्रिय सहकार्यलाई बलियो बनाउनुपर्नेमा जोड दिए।

मानव बेचबिखनविरुद्धको अभियान प्रभावकारी बनाउन सबै सरोकारवाला निकायको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै कार्कीले पीडितको संरक्षण, अपराधीमाथि कडा कारबाही र जनचेतना अभिवृद्धिलाई प्राथमिकतामा राख्नुपर्ने बताए।

Tokha