काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पुर्खाहरूको त्याग, बलिदान, साहस र वीरताकै कारण नेपालीहरूले आज गर्वका साथ शिर ठाडो पारेर उभिन पाएको बताएका छन्।
शुक्रबार राष्ट्रिय विभूति भीमसेन थापाको २५१औँ जन्मजयन्ती तथा पुरस्कार एवं सम्मान कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले इतिहासका सकारात्मक पक्षबाट शिक्षा लिएर मात्रै वर्तमानलाई न्याय गर्न र उज्ज्वल भविष्य निर्माण गर्न सकिने धारणा व्यक्त गरे।
उनले भने, “हामीले इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सक्छौँ। यही बाटोले भविष्य निर्माणको सुनौलो आधार पनि तय गर्छ भन्ने मेरो विश्वास छ।”
राष्ट्रपति पौडेलले वीर पुर्खाहरूले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताको रक्षाका लागि गरेको त्याग र योगदान अतुलनीय रहेको उल्लेख गरे।
उनले आपसी भाइचारा, मित्रता, सहिष्णुता र एकताको आधारमा राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिँदै राष्ट्रप्रेमप्रतिको प्रतिबद्धता कुनै पनि अवस्थामा कमजोर हुन नहुने बताए।
उनले भने, “यही एकताको बलमा मुलुकलाई समृद्ध बनाउँदै भावी पुस्तामा राष्ट्रप्रेमको भावना जागृत गर्नुपर्छ। हामी सबै मिलेर भ्रष्टाचार, विकृति र विसंगति अन्त्य गर्दै सुशासनमार्फत देश विकासलाई तीव्र बनाउन जुट्नुपर्छ। यही नै राष्ट्रिय विभूति भीमसेन थापासहित हाम्रा वीर पुर्खाप्रतिको सच्चा सम्मान हुनेछ।”
राष्ट्रपति पौडेलले भीमसेन थापालाई बहुआयामिक व्यक्तित्वका धनी राष्ट्रनेताका रूपमा स्मरण गर्दै उहाँ राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताको पक्षमा सधैं अडिग रहेको बताए।
“अङ्ग्रेजसँगको युद्धमा नेपालले ठूलो मूल्य चुकाउनुपरे पनि उहाँको अटल राष्ट्रभक्तिका कारण नेपाल आफ्नो स्वतन्त्र अस्तित्व जोगाउन सफल भयो,” राष्ट्रपति पौडेलले भने।



































