मन्त्री यादवद्वारा नेपाल औषधि लिमिटेडको अनुगमन, आत्मनिर्भर बन्न निर्देशन

मन्त्री यादवद्वारा नेपाल औषधि लिमिटेडको अनुगमन, आत्मनिर्भर बन्न निर्देशन

काठमाडौं, साउन ६ / उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवले नेपाल औषधि लिमिटेडको अनुगमन गर्दै संस्थाको उत्पादन क्षमता, वर्तमान अवस्था तथा देखिएका समस्याबारे जानकारी लिएकी छन्।

बबरमहलस्थित लिमिटेडको कार्यालयमा पुगेकी मन्त्री यादवसँगै मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडी लगायत उच्च अधिकारीहरूको टोली पनि अनुगमनमा सहभागी भएको थियो।

अनुगमनका क्रममा लिमिटेडका महाप्रबन्धक कैलाश पनेरुले हाल २५ प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेको जानकारी गराउँदै उत्पादन गरिएका औषधि देशभर वितरण गर्न आवश्यक सवारीसाधनको अभाव रहेको बताए। जेनजी आन्दोलनका क्रममा औषधि ढुवानीमा प्रयोग हुँदै आएको सवारीसाधन जलेपछि हालसम्म नयाँ सवारीको व्यवस्था हुन नसक्दा वितरणमा समस्या भइरहेको उनले जानकारी दिए।

त्यसपछि मन्त्री यादवले मन्त्रालयका सचिव दुवाडीलाई औषधि ढुवानीका लागि आवश्यक सवारीसाधनको तत्काल व्यवस्था गर्न निर्देशन दिइन्।

महाप्रबन्धक पनेरुले वर्षौंदेखि घाटामा रहेको नेपाल औषधि लिमिटेड चालु आर्थिक वर्षमा करिब दुई करोड रुपैयाँ नाफामा जान सफल भएको जानकारी पनि मन्त्रीसमक्ष प्रस्तुत गरेका थिए।

लिमिटेड नाफामा गएकोमा खुशी व्यक्त गर्दै मन्त्री यादवले सरकारी उद्योग तथा संस्थानहरू आत्मनिर्भर बन्नुपर्नेमा जोड दिइन्। उनले कर्मचारी व्यवस्थापनदेखि कार्यालय सञ्चालनसम्मका खर्च आफ्नै आम्दानीबाट व्यवस्थापन गर्नुपर्ने उल्लेख गर्दै मन्त्रालयसँग बजेट माग्ने परम्पराको अन्त्य हुनुपर्ने बताइन्।

मन्त्री यादवले आगामी पाँच वर्षभित्र मुलुकमा निराशाको भाष्य परिवर्तन गर्ने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै कर्मचारीलाई इमान्दारीपूर्वक काम गर्न आग्रह गरिन्।

Tokha