काठमाडौं । साउदी अरेबियाबाट डिजिटल वालेट टिग्मोमार्फत आईएमईमा रेमिट्यान्स पठाउने सेवाग्राहीमध्ये अभिषेक कालाखेतीले बीवाईडी एट्टो १ विद्युतीय कार (ईभी) जितेका छन्।
‘टिग्मोमार्फत आईएमई गरौं, उपहार जितौं’ योजनाअन्तर्गत विजेता बनेका कालाखेतीको तर्फबाट उनकी श्रीमती कल्पना कालाखेतीलाई मंगलबार आयोजित विशेष समारोहमा ईभी हस्तान्तरण गरिएको हो।
यस्तै, युवराज न्यौपाने र सन्तोष गिरीले याडिया ओविन इलेक्ट्रिक स्कुटर जितेका छन् भने १२ जना विजेताले आइफोन १७ प्राप्त गरेका छन्। सबै विजेतालाई आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा टिग्मोका प्रतिनिधिहरूले संयुक्त रूपमा पुरस्कार हस्तान्तरण गरेका थिए।
कार्यक्रममा बोल्दै आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले रेमिट्यान्स सेवा कागजी प्रक्रियाबाट सुरु भएर अहिले पूर्ण रूपमा डिजिटल युगमा प्रवेश गरेको उल्लेख गर्दै साउदी अरेबियामा रहेका नेपालीलाई टिग्मोमार्फत आईएमईमा रेमिट्यान्स पठाउन आग्रह गरे।
आईएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले कम्पनीका प्रवर्द्धनात्मक अभियानहरू केवल बजार प्रवर्द्धनका लागि नभई सेवाग्राही र उनीहरूको परिवारलाई प्रत्यक्ष लाभ पुग्ने उद्देश्यले सञ्चालन गरिने बताए। आगामी दिनमा पनि ग्राहककेन्द्रित आकर्षक योजनाहरू ल्याइने उनले जानकारी दिए।
आईएमईले उक्त योजना पुस २१ देखि चैत १७ गतेसम्म सञ्चालन गरेको थियो। योजनाअन्तर्गत ५ जनाले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका थिए भने समग्रमा ७५ जना विजेताले विभिन्न पुरस्कार हात पारेको कम्पनीले जनाएको छ। विजेताहरूको छनोट डिजिटल लक्की ड्रमार्फत गरिएको थियो।
योजनाअन्तर्गत एक जनालाई बीवाईडी एट्टो १ ईभी, हरेक महिना दुई जनालाई याडिया ओविन इलेक्ट्रिक स्कुटर र प्रत्येक सातामा १२ जनालाई आइफोन १७ प्रदान गरिएको कम्पनीले जनाएको छ।
साथै, आईएमईले अगस्ट १ देखि अक्टोबर ३१ सम्म ‘टिग्मो एन्ड विन फाइभ टाइम्स मोर’ नामक नयाँ ग्राहक–उपहार योजना सञ्चालन गर्न लागेको पनि जानकारी दिएको छ।



































