विज्ञापन बोर्डको अध्यक्ष पदमा दरखास्त आह्वान

विज्ञापन बोर्डको अध्यक्ष पदमा दरखास्त आह्वान

काठमाडौं । विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरिएको छ।

सूचना तथा सञ्चार मन्त्रालयले बुधबार सार्वजनिक सूचना जारी गर्दै योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो। इच्छुक उम्मेदवारहरूले साउन ८ गतेभित्र दरखास्त बुझाउन सक्नेछन्।

मन्त्रालयका अनुसार उम्मेदवारका लागि आवश्यक न्यूनतम योग्यता, दरखास्त फाराम तथा आवेदनसँग संलग्न गर्नुपर्ने कागजातसम्बन्धी विस्तृत विवरण मन्त्रालयको वेबसाइटमा उपलब्ध छ।

विज्ञापन बोर्डले नेपाल सरकारबाट सञ्चार माध्यमलाई उपलब्ध गराइने सार्वजनिक हितसम्बन्धी विज्ञापन तोकिएको मापदण्डअनुसार समानुपातिक रूपमा वितरण गर्ने जिम्मेवारी पाएको छ। साथै वस्तु तथा सेवाको प्रचार–प्रसारसँग सम्बन्धित विज्ञापन तथा विज्ञापन व्यवसायको नियमन गर्ने काम पनि बोर्डले गर्दै आएको छ।

बोर्डले विज्ञापनसम्बन्धी राष्ट्रिय नीति निर्माणका लागि मन्त्रालयलाई सिफारिस गर्ने, विज्ञापन सामग्रीको मापदण्ड तय गर्ने, विज्ञापन उत्पादन, प्रसारण र वितरणसम्बन्धी आचारसंहिता बनाउने तथा राष्ट्रिय र सार्वजनिक हितका विज्ञापनको निर्माण, प्रकाशन र प्रसारणलाई प्रोत्साहन गर्ने कार्यसमेत गर्दछ।

यस्तै, विज्ञापन व्यवसायीको क्षमता विकासका कार्यक्रम सञ्चालनका लागि सिफारिस गर्ने, उपभोक्ता सचेतना कार्यक्रम सञ्चालन गर्ने, उत्कृष्ट कार्य गर्ने व्यक्ति वा संस्थालाई पुरस्कृत गर्ने तथा आवश्यक परे विज्ञापन उत्पादक, निर्माता, वितरक र प्रसारकलाई निर्देशन दिने अधिकार पनि विज्ञापन बोर्डलाई रहेको छ।

Tokha