काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आत्मदाहपछि निधन भएका गणेश नेपालीको घटनाले समाज, राज्य र सामूहिक चेतनालाई गम्भीर रूपमा झस्काएको बताएका छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै थापाले गणेश नेपालीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् भने शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन्।
‘गणेश नेपालीको घटनाले स्तब्ध बनाएको छ। यो घटना समाज, राज्य र हाम्रो सामूहिक चेतनालाई झस्काउने अत्यन्तै पीडादायी क्षण हो,’ उनले उल्लेख गरेका छन्।
थापाले उक्त घटनालाई राजनीतिक बहस वा दोषारोपणको विषय नबनाउन आग्रह गर्दै यो एउटा नागरिकको जीवन, परिवारको असह्य पीडा र मानवीय संवेदनासँग जोडिएको विषय भएको बताएका छन्।
उनले गणेश नेपालीका आश्रित परिवारलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा सबैले आ–आफ्नो ठाउँबाट सोच्नुपर्ने उल्लेख गरेका छन्।
थापाले विगत वा वर्तमानमा कसको दोष भन्ने बहसभन्दा पनि यस्ता घटनालाई राज्य सञ्चालनसँग जोडिएको सामूहिक आत्मचिन्तनको विषय बनाउनुपर्ने धारणा राखेका छन्। एउटा युवा किन यस्तो निराशाको अवस्थामा पुग्छ र आफ्ना पीडा सुनाउन किन आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था सिर्जना हुन्छ भन्ने प्रश्नको उत्तर खोज्न आवश्यक रहेको उनको भनाइ छ।
‘राज्यका सेवा र संयन्त्रले नागरिकलाई आड, साथ र भरोसाको अनुभूति गराउनुपर्ने हो। तर किन कतिपय नागरिक राज्यकै सामु आफूलाई यति असहाय महसुस गर्छन् ?’ भन्दै थापाले प्रश्न उठाएका छन्।
समाज, परिवार, राज्य र नागरिकका रूपमा कहाँ कमजोरी भयो भन्ने विषयमा इमानदार समीक्षा आवश्यक रहेको उल्लेख गर्दै उनले भविष्यमा कुनै पनि नागरिकले यस्तो बाटो रोज्न नपर्ने वातावरण निर्माण गर्नु नै गणेश नेपालीप्रतिको साँचो श्रद्धाञ्जली हुने बताएका छन्।



































