काठमाडौं, असार २५ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।
बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद केसीले राष्ट्रिय मानवअधिकार आयोग संवैधानिक संस्था मात्र नभई विश्व मानवअधिकार प्रणालीसँग आबद्ध महत्वपूर्ण निकाय भएको बताए। आयोगले संयुक्त राष्ट्रसंघीय मानवअधिकार प्रणाली तथा अन्तर्राष्ट्रिय मानवअधिकारसम्बन्धी संस्थासँग सहकार्य गर्दै नेपालको मानवअधिकार अवस्थाबारे विश्व समुदायलाई जानकारी गराउने भूमिका निर्वाह गर्दै आएको उनले उल्लेख गरे।
केसीले आयोगका प्रतिवेदन र सिफारिसलाई बेवास्ता गर्नु आयोगको अवमूल्यन मात्र नभई नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धता, विश्वसनीयता, विधिको शासन र लोकतान्त्रिक छविमाथि नै प्रश्न उठ्ने विषय भएको बताए।
उनका अनुसार राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्षले हालसम्म आयोगका सिफारिसमध्ये करिब १३ प्रतिशत मात्र कार्यान्वयन भएको जानकारी दिएका छन्। यस्तो अवस्थामा आयोगकी सदस्य लिली थापाले तयार पारेको प्रतिवेदन अझै सार्वजनिक नहुनु दुःखद र खेदजनक भएको उनको भनाइ थियो।
सांसद केसीले उक्त प्रतिवेदन तत्काल सार्वजनिक गरी प्रतिनिधिसभाका सदस्यहरूलाई उपलब्ध गराउन तथा त्यसका आधारमा आवश्यक कानुनी प्रक्रिया र कारबाही अविलम्ब अघि बढाउन सरकारसँग आग्रह गरे।



































