स्थानीय सरकार सुदृढीकरणका लागि १० बुँदे ‘मेलम्ची घोषणा’ सार्वजनिक

स्थानीय सरकार सुदृढीकरणका लागि १० बुँदे ‘मेलम्ची घोषणा’ सार्वजनिक

सिन्धुपाल्चोक । स्थानीय सरकारको सुदृढीकरण, सुशासन प्रवर्द्धन तथा उपप्रमुख–उपाध्यक्षहरूको भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित आयोजित बागमती प्रदेशस्तरीय उपप्रमुख–उपाध्यक्ष सम्मेलनले १० बुँदे ‘मेलम्ची घोषणा’ सार्वजनिक गरेको छ।

मेलम्ची नगरपालिकामा सम्पन्न सम्मेलनमा सहभागी स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरूले स्थानीय सरकार सञ्चालनमा आफ्नो भूमिका, जिम्मेवारी, अवसर, चुनौती र सम्भावित जोखिमका विषयमा विस्तृत छलफल गरेका थिए। साथै प्रमुख–अध्यक्ष, कार्यपालिका र कर्मचारी प्रशासनबीच समन्वय तथा सहकार्यलाई थप प्रभावकारी बनाउने विषयलाई प्राथमिकताका साथ उठाइएको थियो।

सम्मेलनको पहिलो सत्रमा आयोजित प्यानल छलफलमा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकर तामाङ, बुढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामा र भरतपुर महानगरपालिकाका कानुनी सहजकर्ताले स्थानीय तहका प्रमुख–अध्यक्ष र उपप्रमुख–उपाध्यक्षबीचको सम्बन्ध, सहकार्य तथा अधिकार क्षेत्रबारे धारणा राखेका थिए।

छलफलका क्रममा स्थानीय तहमा लैङ्गिक समावेशीकरणको अवस्था, जनप्रतिनिधिहरूबीच जिम्मेवारी र अधिकारप्रतिको स्पष्ट बुझाइ तथा संविधानले उपप्रमुख र उपाध्यक्षलाई प्रदान गरेका अधिकारको प्रभावकारी कार्यान्वयनमा जोड दिइएको थियो। विशेषगरी न्यायिक समिति, कानुन निर्माण, राजस्व व्यवस्थापन, बजेट निर्माण तथा सामाजिक र मानवीय सेवाका क्षेत्रमा उपप्रमुख–उपाध्यक्षहरूको भूमिकाबारे विशेष चर्चा भएको थियो।

सहभागीहरूले न्यायिक समितिमार्फत भएका सकारात्मक अभ्यासहरू प्रस्तुत गर्दै स्थानीय सरकारभित्र उपप्रमुख तथा उपाध्यक्षहरूको योगदानलाई अझ संस्थागत, सम्मानजनक र परिणाममुखी बनाउनुपर्ने आवश्यकता औँल्याएका थिए। स्थानीय सरकारलाई थप उत्तरदायी, प्रभावकारी र समावेशी बनाउन आवश्यक सुधारका विषयमा समेत विचार आदान–प्रदान गरिएको थियो।

दोस्रो सत्रमा बनेपा नगरपालिकाकी उपप्रमुख विमला सापकोटा, भोटेकोशी गाउँपालिकाकी उपाध्यक्ष देच्छेन तथा चन्द्रागिरी नगरपालिकाका कानुनी सहजकर्ताबीच न्यायिक समितिको क्षेत्राधिकार, मेलमिलापकर्ताको भूमिका, संस्थागत सुधारका उपाय र विभिन्न स्थानीय तहमा अपनाइएका असल अभ्यासबारे अनुभव आदान–प्रदान गरिएको थियो।

सम्मेलनका प्रमुख अतिथि संघीय संसद् प्रतिनिधिसभा सदस्य युवराज दुलाल रहेका थिए भने कार्यक्रमको अध्यक्षता मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानले गरेकी थिइन्। समापन समारोहमा उनले स्थानीय सरकारमा उपप्रमुख तथा उपाध्यक्षहरूको भूमिका थप प्रभावकारी, सम्मानित र परिणाममुखी बनाउने उद्देश्यसहित तयार गरिएको १० बुँदे ‘मेलम्ची घोषणा’ तथा प्रतिबद्धता पत्र सार्वजनिक गरेकी थिइन्।

कार्यक्रममा बागमती प्रदेशका विभिन्न नगरपालिका तथा गाउँपालिकाका उपप्रमुख, उपाध्यक्ष, जनप्रतिनिधि, कानुनी सहजकर्ता, प्रशासनिक अधिकारी, सञ्चारकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

Tokha