यातायात व्यवसायी महासंघको नयाँ कार्यमितिको पदस्थापना, नीतिगत सुधार गर्न माग

यातायात व्यवसायी महासंघको नयाँ कार्यमितिको पदस्थापना, नीतिगत सुधार गर्न माग

 

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यकारिणी समितिको पदस्थापन गरिएको छ ।

काठमाडौंमा आयोजित विशेष कार्यक्रममा नवनिर्वाचित कार्यसमितिलाई औपचारिक रूपमा पदस्थापन गरिएको हो।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ प्रमुख अतिथि रहेका थिए।

मुख्यमन्त्री बानियाँले यातायात व्यवसाय नेपालको भौगोलिक अवस्था र पूर्वाधारको सीमितताबीच अत्यन्त जोखिमपूर्ण र चुनौतीपूर्ण रहेको उल्लेख गरे । उनले देशका प्रमुख तथा सहायक राजमार्गहरूको अवस्था अझै जिर्ण रहेको भन्दै यातायात व्यवसायीहरूले कठिन परिस्थितिमा सेवा प्रवाह गर्दै आएको बताए ।

उनले नेपालमा रेल र जलमार्ग जस्ता वैकल्पिक यातायात साधन सीमित भएकाले सडक यातायात नै प्रमुख आधार भएको उल्लेख गर्दै व्यवसायीहरूको भूमिकालाई राज्यले गम्भीर रूपमा लिनुपर्ने धारणा राखे ।

उनले भने, ‘यातायात व्यवसायले नेपालको बाटो, अवस्था र जोखिमपूर्ण परिस्थिति व्यवसायीहरुले गुजार्नुपरेको छ । धेरै राजमार्गहरु र अरु सहायक राजमार्गहरु जिर्ण अवस्थामा छन् । त्यस्तो अवस्थामा सेवा दिनुपरिरहेको छ । नेपालका यातायातका साधनहरु भनेको ट्रक, टिफर र लहरी मात्रै हो । हामीसँग पानी जहाज र रेल छैन् ।’

छिमेकी मुलुकका सवारी साधनको अनियन्त्रित प्रवेशका कारण नेपाली यातायात व्यवसायीहरू आर्थिक रूपमा प्रभावित भएको भन्दै उनले आवश्यक नीतिगत सुधार आवश्यक रहेको पनि बताए।

साथै, विभिन्न जरिवाना तथा दर्ता सम्बन्धी प्रक्रियामा प्रदेश सरकारले केही सहजीकरण तथा छुटका निर्णयहरू गरेको जानकारी दिए।

यस्तै कार्यक्रममा नवनिर्वाचित अध्यक्ष पुष्पप्रसाद (सरोज) सिटौलाले निवर्तमान अध्यक्ष विजय कुमार स्वाँरको नेतृत्वमा भएका कामहरूको प्रशंसा गर्दै बाँकी रहेका कार्यहरू पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले निवर्तमान अध्यक्षको योगदानलाई सम्मान गर्दै संगठनलाई अझ सुदृढ, व्यवस्थित र व्यवसायीमैत्री बनाउने लक्ष्यसहित अघि बढ्ने बताए।

त्यसैगरी निवर्तमान अध्यक्ष स्वाँरले आफ्नो कार्यकालमा भएका उपलब्धि र कमजोरीको मूल्यांकन समयले गर्ने उल्लेख गर्दै सबै सदस्यको सहयोगप्रति आभार व्यक्त गरे। उनले आवश्यक परेका बेला आफू सधैं संस्थासँग जोडिएर रहने प्रतिबद्धता पनि जनाए

Tokha