काठमाडौं, असार ३ – नेपाल राष्ट्र बैंकले आज (बुधबार) देखि ५०० रुपैयाँ दरका नयाँ नोटहरू चलनचल्तीमा ल्याएको छ। गभर्नर विश्वनाथ पौडेल को हस्ताक्षर रहेको नयाँ नोट साविककै आकार, रङ र डिजाइनमा बजारमा पठाइएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार संकेत नम्बर झ ३८ ०००००१ देखि ट ८३ ९९९९९९ सम्मका नोटहरू चलनचल्तीमा ल्याइएको छ। नेपाली नोटको नम्बरिङ प्रणाली अनुसार यसपटक झ, ञ र ट संकेत प्रयोग गरिएका छन्।
नयाँ नोटमा अगाडिको भागमा सगरमाथाको चित्र, दाहिनेतर्फ लालीगुराँसको वाटरमार्क तथा विभिन्न सुरक्षा विशेषताहरू समावेश गरिएको छ। नोटको तल्लो भागमा वि.सं. २०८२ उल्लेख गरिएको छ।
राष्ट्र बैंकले करिब ३० लाख थान नयाँ ५०० रुपैयाँका नोट बजारमा पठाएको जनाएको छ। यी नोटहरू आजदेखि नै बैंक तथा वित्तीय संस्थामार्फत सर्वसाधारणको प्रयोगमा आउनेछन्।
नेपाल राष्ट्र बैंकले नयाँ नोटमा समावेश सुरक्षा विशेषताले नक्कली नोट नियन्त्रण गर्न र नोटको विश्वसनीयता थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
































