काठमाडौं, जेठ २६ / नागर्जुन नगरपालिकाले “समृद्ध नागर्जुनको आधार : सुशासन, मानव विकास र पर्यटनसहितको दिगो पूर्वाधार” भन्ने नारासहित सेवा प्रवाह तथा विकास निर्माणसम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ।
नगरपालिका–७ स्थित इचङ्गुनारायण मन्दिर परिसरमा आयोजित कार्यक्रममा नगरवासी, जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा कामु नगर प्रमुख सुशिला अधिकारीले सुशासन, पारदर्शिता र जनउत्तरदायित्वलाई केन्द्रमा राखेर विकास तथा सेवा प्रवाह भइरहेको बताउँदै नागरिकका सुझावलाई समेटेर आगामी योजनालाई थप प्रभावकारी बनाइने बताइन्।
प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद अर्यालले सेवा प्रवाह, विकास आयोजना र बजेट कार्यान्वयनबारे जानकारी दिएका थिए। कार्यक्रममा पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य केशव पौडेल र पूर्वमन्त्री प्रकाश श्रेष्ठले सुशासन, पूर्वाधार, पर्यटन तथा मानव विकासलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखेका थिए।
सुनुवाइका क्रममा स्थानीयले सडक, खानेपानी, सरसफाइ, शिक्षा, स्वास्थ्यलगायत विषयमा जिज्ञासा र सुझाव राखेका थिए। नगरपालिकाले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।
स्थानीय बासिन्दाले सडक स्तरोन्नति तथा मर्मत, खानेपानी व्यवस्थापन, सरसफाइ, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार, सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयलगायत नगर विकाससँग सम्बन्धित विभिन्न जिज्ञासा, सुझाव तथा गुनासाहरू राखेका थिए। उठाइएका प्रश्नहरूको सम्बन्धित शाखा प्रमुख तथा नगरपालिकाका पदाधिकारीहरूले जवाफ दिँदै समस्या समाधानका लागि आवश्यक पहल गरिने प्रतिबद्धता व्यक्त गरेका थिए।
































