काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) अन्तर्गतको वीर अस्पतालले जुन महिनाभर ब्रेन ट्युमरको शल्यक्रिया शुल्क पूर्ण रूपमा मिनाहा गर्ने घोषणा गरेको छ। विश्व ब्रेन ट्युमर दिवसको अवसरमा राष्ट्रिय ब्रेन ट्युमर केन्द्र (NBTC) ले आयोजना गरेको कार्यक्रममा उक्त जानकारी दिइएको हो।
केन्द्रले सार्वजनिक गरेको राष्ट्रिय बहुकेन्द्रीय ब्रेन ट्युमर तथ्याङ्कअनुसार नेपालमा ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दो क्रममा रहेको छ। सन् २०८१ मा २ हजार ६ सय बिरामी उपचारमा आएकोमा सन् २०८२ मा यो संख्या १५.४ प्रतिशतले बढेर ३ हजार पुगेको छ।
तथ्याङ्कअनुसार पुरुष र महिलामा ब्रेन ट्युमरको जोखिम लगभग समान रहेको छ भने सबैभन्दा बढी ३० देखि ५० वर्ष उमेर समूह प्रभावित भएको पाइएको छ। बागमती प्रदेशबाट सबैभन्दा धेरै बिरामी उपचारका लागि पुगेका छन्।
चिकित्सकहरूले उच्च-ग्रेड ग्लियोमा जस्ता जटिल ट्युमरका बिरामीहरू ढिलो अवस्थामा उपचारका लागि आउने प्रवृत्ति बढ्दो रहेको बताएका छन्। केन्द्रका संस्थापक अध्यक्ष प्रा. डा. राजीव झाले प्रारम्भिक अवस्थामै रोग पहिचान र उपचार गर्न सके धेरै बिरामीको ज्यान बचाउन सकिने बताए।
कार्यक्रममा नेपालको न्युरोअन्कोलोजी सेवामा योगदान पुर्याएको भन्दै डा. चारधाम बुढाथोकीलाई ‘Champion of NeuroOncology Care 2026’ सम्मान प्रदान गरिएको थियो।
































