काठमाडौं, जेठ २४ / काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सार्वजनिक स्थलमा बसेर माग्ने कार्यलाई पूर्ण रूपमा निषेध गर्ने घोषणा गरेको छ। महानगरले वेसहारा, अशक्त, असहाय, अभिभावकविहीन तथा सडक आश्रित व्यक्तिहरूको मानवोचित व्यवस्थापन गर्ने तथा पेशेवर रूपमा माग्ने कार्यलाई रोक्ने नीति अघि सारेको हो।
सडक सहयोगापेक्षी व्यवस्थापनमा प्राप्त उपलब्धि र आगामी कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा महानगरका प्रवक्ता नविन मानन्धर ले मानव सेवा आश्रमसँगको सहकार्यमा सहयोगापेक्षी व्यक्तिहरूको उद्धार, हेरचाह, उपचार तथा पुनःस्थापनाको कार्य एकद्वार प्रणालीमार्फत सञ्चालन गरिने जानकारी दिनुभयो।
उहाँका अनुसार २०७४ साल मंसिर १ गतेदेखि २०८३ साल जेठ २१ गतेसम्म महानगरले कुल २ हजार ४२१ जना सडक आश्रित तथा सहयोगापेक्षी व्यक्तिको उद्धार गरेको छ। उद्धार गरिएकामध्ये १ हजार ५७१ जना पुरुष र ८५० जना महिला रहेका छन्।
उमेर समूहअनुसार उद्धार गरिएकामध्ये १० जना पाँच वर्षमुनिका बालबालिका, ६३ जना ६ देखि १७ वर्ष उमेर समूहका बालबालिका, ६५३ जना १८ देखि ३९ वर्ष उमेर समूहका, ८५४ जना ४० देखि ५९ वर्ष उमेर समूहका तथा ८४१ जना ६० वर्षमाथिका नागरिक रहेका छन्।
महानगरका अनुसार उद्धारपछि ८८३ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ भने ५३४ जनाको सामाजिक पुनःस्थापना गरिएको छ।
पत्रकार भेटघाट कार्यक्रममा महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, सामाजिक समितिका संयोजक रामकुमार के.सी., मानव सेवा आश्रम का अध्यक्ष रामजी अधिकारी लगायतको सहभागिता रहेको थियो।
यसैबीच कार्यवाहक प्रमुख डंगोलको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय, प्रहरी निकाय तथा महानगर प्रहरी बलका प्रतिनिधिहरूसँग समन्वयात्मक बैठकसमेत सम्पन्न भएको छ। बैठकले सडक सहयोगापेक्षी व्यवस्थापनलाई थप प्रभावकारी र दिगो बनाउन सम्बन्धित निकायबीच औपचारिक सहकार्य र दायित्व बाँडफाँट गर्ने निर्णय गरेको जनाएको छ।
महानगरले मठ, मन्दिर, चैत्य, गुम्बा तथा सम्पदा क्षेत्रका व्यवस्थापन समितिसँग पनि छलफल गरेको छ। छलफलमा सहयोगापेक्षी व्यक्तिहरूको जिम्मेवारी महानगरले लिने भएपछि पेशेवर माग्नेलाई नियन्त्रण गर्न सहज हुने निष्कर्ष निकालिएको बताइएको छ।
अधिकारीहरूका अनुसार माग्ने प्रवृत्ति बढ्नुमा माग्ने व्यक्तिमात्र होइन, जथाभावी दान दिने संस्कार पनि एक प्रमुख कारण हो। त्यसैले पेशेवर माग्ने प्रवृत्ति नियन्त्रणका लागि सर्वसाधारणलाई समेत सचेत बनाउन आवश्यक रहेको महानगरको भनाइ छ।
































