बुढानीलकण्ठको आँखा स्वास्थ्य अभियान : हजारौंमा फर्कियो उज्यालो

बुढानीलकण्ठको आँखा स्वास्थ्य अभियान : हजारौंमा फर्कियो उज्यालो

उज्यालो जीवनतर्फको यात्रा :

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाको आयोजनामा तथा तिलगंगा आँखा अस्पतालको चिकित्सक एवं प्राविधिक सहयोगमा बृहत् निःशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शिविरमार्फत करिब ३ हजार ५ सय नागरिकले निःशुल्क आँखा परीक्षण सेवा प्राप्त गरेको उपप्रमुख अनिता लामाले जानकारी दिइन् । मोतिबिन्दु शल्यक्रियाका लागि कपनस्थित फूलहारी गुम्बाले शल्यक्रिया स्थल उपलब्ध गराउनुका साथै व्यवस्थापनमा महत्वपूर्ण सहयोग गरेको छ। बुढानीलकण्ठ नगरपालिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको यो आँखा स्वास्थ्य कार्यक्रम विशेषगरी ज्येष्ठ नागरिकका लागि अत्यन्तै लाभदायी बनेको छ।

वर्षौंदेखि धमिलो दृष्टिका कारण दैनिक जीवनमा कठिनाइ भोगिरहेका धेरै नागरिकले शल्यक्रियापछि पुनः स्पष्ट रूपमा संसार हेर्न पाउँदा व्यक्त गरेको खुशी र आत्मसन्तुष्टि कार्यक्रमको सबैभन्दा ठूलो उपलब्धि हो। उपचारपछि बिरामीहरूको अनुहारमा देखिएको मुस्कान र आँखामा झल्किएको उज्यालोले स्वास्थ्य सेवाको वास्तविक महत्वलाई झन् स्पष्ट बनाएको छ।

लामाले कार्यक्रमलाई सफल बनाउन चिकित्सकीय तथा प्राविधिक सहयोग प्रदान गर्ने तिलगंगा आँखा अस्पताल, व्यवस्थापकीय सहयोग गर्ने फूलहारी गुम्बा तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यक्तित्वप्रति हार्दिक आभार व्यक्त गरेकी छिन् । यस्ता मानवीय सेवामूलक कार्यक्रमले नागरिकको जीवनस्तर सुधार्नुका साथै स्थानीय सरकारप्रतिको विश्वासलाई अझ बलियो बनाउने विश्वास लिएको उपप्रमुख लामाले बताइन् ।

Tokha