काठमाडौं । लक्ष्मीप्रसाद उप्रेती राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा निर्वाचित भएका छन् । बिहीबार सम्पन्न सञ्चालक समितिको निर्वाचनमा उनले आफ्ना प्रतिद्वन्द्वी परितोष पौड्याल लाई पराजित गर्दै अध्यक्ष पदमा विजय हासिल गरेका हुन् ।
कोशी प्रदेशबाट सञ्चालक रहेका उप्रेतीले सात सदस्यीय सञ्चालक समितिबीच भएको मतदानमा ५ मत प्राप्त गरे भने पौड्यालले २ मत मात्र पाए । झापास्थित नेपाल बहुउद्देश्यीय सहकारी संस्थाबाट बैंकमा प्रतिनिधित्व गरेका उप्रेती यसअघि बैंकको लेखा समिति संयोजकको जिम्मेवारीमा रहेका थिए ।
जेठ १३ गते सञ्चालकहरूले शपथ ग्रहण गरेलगत्तै अध्यक्ष चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाइएको थियो ।
बैंकको नयाँ कार्यसमितिमा सातै प्रदेशबाट प्रतिनिधित्व सुनिश्चित गरिएको छ । समितिमा कोशीबाट लक्ष्मीप्रसाद उप्रेती, मधेशबाट मन्दिरा आचार्य, बागमतीबाट परितोष पौड्याल, गण्डकीबाट कमला देवी गिरी, लुम्बिनीबाट विष्णुप्रसाद बराल, कर्णालीबाट कालीबहादुर महतारा तथा सुदूरपश्चिमबाट मनमोहन विष्ट सञ्चालक रहेका छन् ।
त्यस्तै, लेखा सुपरिवेक्षण समितिको संयोजकमा तारा गुरुङ चयन भएकी छन् भने सदस्यहरूमा ममता शाह र युवराज पोखरेल रहेका छन् ।
संशोधित विनियमावलीअनुसार बैंकको सञ्चालक समितिमा कम्तीमा दुई जना महिलाको प्रतिनिधित्व अनिवार्य गरिएको छ । साथै आगामी दिनमा समितिले थप दुई जना विज्ञ सञ्चालक मनोनयन गर्ने व्यवस्था पनि रहेको जनाइएको छ ।






























