काठमाडौँ, १५ जेठः रामचन्द्र पौडेल ले गणतन्त्रले नेपाली जनतालाई सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको उल्लेख गर्दै यसलाई राष्ट्र निर्माणको महान प्रेरणा र अभिभारा भएको बताएका छन् ।
१९औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले गणतन्त्रले देशलाई एकताबद्ध बनाउँदै साझा राष्ट्र निर्माणको संकल्पमा प्रेरित गरेको बताए ।
उनले भने, “गणतन्त्रले हामीलाई सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको छ । यसले समुन्नत भविष्यका लागि एकतावद्ध भएर अगाडि जाने अवसर दिएको छ । यसले देशवासीलाई जोडेको छ र साझा राष्ट्र निर्माणको संकल्पका लागि अभिप्रेरित गरेको छ । त्यसैले यो हाम्रा लागि राष्ट्र निर्माणको एक महान प्रेरणा र अभिभारा हो ।”
राष्ट्रपति पौडेलले गणतन्त्र केवल राजनीतिक व्यवस्था मात्र नभई आचरणशील राजनीतिक, आर्थिक र सामाजिक जीवन पद्धति भएको उल्लेख गरे । उनले यसको मर्यादा जोगाउन राजनीतिक निष्ठा, मूल्य–मान्यता र आचरणमा सुधार आवश्यक रहेको बताए ।
“यसका आफ्नै मूल्यमान्यता र नैतिक दायराहरू हुन्छन् । त्यसलाई बिर्सिएर हामीले इतिहासको अभिभारा पूरा गर्न सक्दैनौँ,” उनले भने, “आजको दिनले हामीलाई सामाजिक न्याय, विकास र समृद्धिसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सार्थक अभ्यासमा अघि बढ्न तथा राजनीति, राज्य र राजकाजलाई नैतिकता, निष्ठा र मूल्यमान्यताको सीमाभित्र आबद्ध गर्न प्रेरणा देओस् ।”
राष्ट्रपति पौडेलले प्रतिनिधिसभा निर्वाचनपछि बनेको वर्तमान सरकारले सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता तथा सामाजिक उन्नतिलाई प्राथमिकतामा राखेर काम अघि बढाएको उल्लेख गरे ।
उनले राजनीतिक परिवर्तन मात्र पर्याप्त नहुने भन्दै राज्यसत्ता, राजनीतिक दल र नेतृत्वको चरित्रमा समेत सुधार आउनुपर्ने धारणा राखे ।
“राजनीतिक व्यवस्था र शासकीय संरचनामा आउने परिवर्तनहरूले मात्र युगका अपेक्षाहरू पूरा हुँदैनन् । यसका लागि राज्यसत्ताको चरित्र, आचरण, राजनीतिक निष्ठा र मूल्यमान्यतामा पनि परिवर्तन आवश्यक हुन्छ,” उनले भने ।
राष्ट्रपति पौडेलले वर्तमान समयमा देशको सबैभन्दा ठूलो चुनौती ढिलासुस्ती, अनियमितता र वेथिति भएको उल्लेख गर्दै लोकतान्त्रिक गणतन्त्रप्रति नागरिकमा निराशा फैलिन नदिन सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए ।
उनले नागरिकले सुशासनसहितको समृद्धि खोजेको भन्दै उपलब्ध स्रोत–साधनको उच्चतम् उपयोगमार्फत आर्थिक विकासलाई नागरिकको जीवनसँग जोड्नुपर्नेमा जोड दिए ।
“आर्थिक विकास र समृद्धिबाट शासन व्यवस्थालाई नागरिकको जीवनसँग जोड्न सक्छौँ । यही नै आजको हाम्रो ऐतिहासिक अभिभारा हो,” राष्ट्रपति पौडेलले भने ।
उनले गणतन्त्रको उत्कृष्टताको सार्थकता प्राप्त गर्न राजनीति, शासकीय शैली, राजनीतिक दल र जनप्रतिनिधिमूलक संस्थाहरूलाई पूर्ण लोकतान्त्रिक, निष्पक्ष, प्रतिस्पर्धात्मक, न्यायपूर्ण र प्रभावकारी बनाउन ढिलाइ गर्न नहुने धारणा व्यक्त गरे ।
साथै, संविधानले निर्दिष्ट गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रता सुनिश्चित गर्नुका साथै निमुखा र विपन्न वर्गको जीवनस्तर उकास्ने लक्ष्य बोकेको पनि राष्ट्रपति पौडेलले उल्लेख गरे ।






























