दान बहादुर बुढा, नेपाल न्यूज बैंक
मुगु । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश प्रहरी अस्पतालको आयोजना, जिल्ला प्रहरी कार्यालय मुगुको समन्वय तथा जिल्ला अस्पताल मुगुको सहकार्यमा प्रहरी, सञ्चारकर्मी र स्थानीय सर्वसाधारणका लागि निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण कार्यक्रम सम्पन्न गरिएको छ।
जिल्ला प्रहरी कार्यालय मुगुमा बुधबार आयोजित स्वास्थ्य शिविरमा कर्णाली प्रदेश प्रहरी अस्पतालका विशेषज्ञ चिकित्सक श्यामकृष्ण लौडारी सहितको टो लीले हाडजोर्नी, नसा, छाला लगायत विभिन्न रोगहरूको परीक्षण गरेको थियो।
स्वास्थ्य टोलीका सदस्य प्रहरी हवल्दार बिखृसिंह भण्डारी का अनुसार शिविरमा ९६ जना प्रहरी कर्मचारी, १० जना प्रहरी परिवार, सञ्चारकर्मी तथा २२ जना सर्वसाधारण गरी कुल १२८ जनाको स्वास्थ्य परीक्षण गरिएको छ।
प्रहरी अस्पतालले प्रहरी कर्मचारीहरूको स्वास्थ्य अवस्था, कार्यपरिस्थिति, खानपिन तथा शारीरिक अवस्थाबारे परीक्षण गर्नुका साथै स्थानीय नागरिक, लोपोन्मुख समुदाय र विद्यार्थीहरूलाई स्वास्थ्यसम्बन्धी जनचेतनामूलक सन्देश समेत दिएको जनाएको छ। शिविरमा रक्तचाप, सुगर, हाडजोर्नी तथा नसासम्बन्धी रोगहरूको परीक्षण गरिएको थियो।
कर्णाली प्रदेश प्रहरी अस्पताल, सुर्खेतबाट करिब ५० प्रकारका औषधिसहित सञ्चालन गरिएको यो अभियानअन्तर्गत जेठ १० गते कालिकोट मा ११५ जना, जुम्ला मा १२० जना तथा जेठ १२ गते जुम्लाको कनकासुन्दरी गाउँपालिका–८ स्थित पाण्डव गुफा स्वास्थ्य चौकीमा २०९ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो। त्यसैगरी मुगुमा १२८ जनाको स्वास्थ्य परीक्षण गरिएको अस्पतालले जनाएको छ।
विशेषज्ञ चिकित्सक लौडारीका अनुसार शिविरमा सहभागी अधिकांशमा ढाड, कम्मर, घाँटी, शरीरका विभिन्न जोर्नी तथा नसासम्बन्धी समस्या बढी देखिएको थियो।
नेपाल पत्रकार महासंघ मुगु शाखाका अध्यक्ष अच्युतराज भण्डारी ले सामान्य अवस्थामा जिल्ला अस्पतालमा उपचार र औषधिका लागि खर्च लाग्ने भए पनि प्रहरी अस्पतालबाट निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श र औषधि पाउँदा निकै राहत भएको प्रतिक्रिया दिए।



































