बुढानीलकण्ठ –७ स्थित पानचौरमा नौलिन भद्रकाली सांस्कृतिक उत्सव भव्य रूपमा सम्पन्न

बुढानीलकण्ठ –७ स्थित पानचौरमा नौलिन भद्रकाली सांस्कृतिक उत्सव भव्य रूपमा सम्पन्न

काठमाडौं, वैशाख १८ — बुढानीलकण्ठ नगरपालिका–७ स्थित पानचौरमा प्रथम नौलिन भद्रकाली सांस्कृतिक उत्सव भव्य रूपमा सम्पन्न भएको छ। स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम पाँचदिने नौलिन भद्रकाली रथयात्राको अवसरमा गरिएको हो।

उत्सवअन्तर्गत चर्चित कुटुम्ब ब्याण्डले आकर्षक सांगीतिक प्रस्तुति दिएर माहोललाई थप उल्लासमय बनाएको थियो। कार्यक्रमको उद्घाटन नगर प्रमुख मिठाराम अधिकारीले दीप प्रज्ज्वलन गरी गरेका थिए भने उपप्रमुख अनिता लामाको विशेष आतिथ्यता रहेको थियो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला, वडा नं. ६ का अध्यक्ष रवि खड्का, स्थानीय बासिन्दा, विभिन्न क्षेत्रका कलाकार, जनप्रतिनिधि, जेष्ठ नागरिक तथा युवायुवतीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै नौलिन भद्रकाली सांस्कृतिक समाजका सल्लाहकार प्रदीप डंगोलसहित पदाधिकारीहरू पनि कार्यक्रममा सहभागी थिए।

समारोहलाई सम्बोधन गर्दै उपप्रमुख अनिता लामाले भाषा, संस्कृति र परम्पराको संरक्षण सबैको साझा दायित्व भएको बताइन्। उनले संस्कृति कुनै जाति विशेषमा सीमित नभई राष्ट्रिय पहिचानको आधार भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले समुदायबीच सद्भाव, एकता र पहिचानलाई सुदृढ बनाउने धारणा राखिन्। साथै, नयाँ पुस्तालाई मौलिक संस्कृतिसँग जोड्न यस्ता कार्यक्रम प्रभावकारी हुने उनको भनाइ थियो।

कार्यक्रममा नेवारी कला–संस्कृतिमा आधारित विविध प्रस्तुति प्रस्तुत गरिएका थिए। नेवारी बाजागाजा, परम्परागत नृत्य तथा सांगीतिक प्रस्तुतिले दर्शकहरूलाई भरपुर मनोरञ्जन प्रदान गरेको थियो।

आयोजक नौलिन भद्रकाली सांस्कृतिक समाजले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। स्थानीय समुदायको उत्साहजनक सहभागिताले बुढानीलकण्ठ नगरपालिका सांस्कृतिक गतिविधिको महत्वपूर्ण केन्द्रका रूपमा विकास हुँदै गएको सहभागीहरूले बताएका छन्।

Tokha