बुढानीलकण्ठमा फोहोरबाट आम्दानीको पहल, आरएसडीसीद्वारा आधुनिक परियोजना हस्तान्तरण

बुढानीलकण्ठमा फोहोरबाट आम्दानीको पहल, आरएसडीसीद्वारा आधुनिक परियोजना हस्तान्तरण

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकामा फोहोर व्यवस्थापनलाई व्यवस्थित र आधुनिक बनाउने उद्देश्यसहित ग्रामीण स्वावलम्बन विकास केन्द्र (आरएसडीसी) ले प्लास्टिक प्रशोधन तथा पुनःउपयोगसम्बन्धी परियोजना हस्तान्तरण गरेको छ।

आरएसडीसीले उक्त परियोजना बुढानीलकण्ठ नगरपालिका र जनसूचना स्वावलम्बन पर्यावरण संरक्षण सहकारी संस्था लिमिटेडलाई संयुक्त रूपमा हस्तान्तरण गरेको हो। कार्यक्रममा नगरप्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, वडा नं. २ का अध्यक्ष राजेन्द्र श्रेष्ठ, सहकारीका अध्यक्ष ज्ञानु कार्की थापालगायत जनप्रतिनिधि तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै नगरप्रमुख अधिकारीले फोहोर व्यवस्थापन अहिलेको प्रमुख चुनौती भएको उल्लेख गर्दै यस्ता परियोजनाले वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। उनले फोहोरलाई उचित रूपमा व्यवस्थापन गर्न सके त्यसैलाई आयआर्जनको स्रोतमा रूपान्तरण गर्न सकिने धारणा राख्दै नगरपालिकाले दिगो र वातावरणमैत्री विकासलाई प्राथमिकतामा राखेको बताए।

परियोजनाअन्तर्गत प्लास्टिकजन्य फोहोर तथा अन्य पुनःप्रयोग गर्न सकिने सामग्रीको संकलन, वर्गीकरण र प्रशोधनलाई प्रभावकारी बनाइनेछ। हस्तान्तरण गरिएका सामग्रीमा प्लास्टिकबाट लम्बर बनाउने मेसिन, प्लास्टिक दाना उत्पादन गर्ने मेसिन, ल्यापटपलगायत उपकरण समावेश छन्।

यो परियोजना बुढानीलकण्ठ–२ को वाशिकुस्थित पञ्चकन्या मन्दिर परिसरमा निर्माण गरिएको केन्द्रबाट सञ्चालन हुनेछ। उक्त केन्द्रमार्फत काम नलाग्ने प्लास्टिक, सिसाका बोतल तथा अन्य पुनःप्रयोगयोग्य सामग्री प्रशोधन गरी उपयोगी वस्तु उत्पादन गरिने योजना छ।

नगरपालिकाको सहजीकरण र सहकारी संस्थाको समन्वयमा सञ्चालन हुने यस परियोजनाले वातावरण संरक्षणसँगै स्थानीय स्तरमा रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा सहभागीहरूले बढ्दो प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि पुनःप्रयोग र रिसाइकल प्रणालीलाई प्रभावकारी बनाउनु आवश्यक रहेकोमा जोड दिएका थिए। आयोजकले नागरिकलाई घरमै फोहोर वर्गीकरण गर्न, पुनःप्रयोगयोग्य सामग्री छुट्याउन र वातावरण संरक्षण अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गरेका छन्।

आरएसडीसीद्वारा सुरु गरिएको यो पहलले बुढानीलकण्ठ क्षेत्रमा फोहोर व्यवस्थापनलाई दीर्घकालीन रूपमा सुधार गर्दै वातावरण संरक्षणमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

Tokha