काठमाडौँ, ७ वैशाख। पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष तथा निमित्त सदस्य सचिव श्रीधर सापकोटाले एक वर्षभित्र कोषलाई आइटी–आधारित संस्था बनाउने घोषणा गरेका छन् ।
सोमबार विकास कोषको ४०औँ वार्षिकोत्सव समारोहको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले कोषको प्रशासन व्यवस्थालाई चुस्तदुरुस्त बनाउन आइटी प्रणालीमा जानुको विकल्प नभएको बताए ।
उनले भने, “हामीले आगामी ४१औँ वार्षिकोत्सव मनाउँदासम्मको अवधिभित्र पशुपति क्षेत्रलाई आइटी–आधारित संस्था बनाउने लक्ष्य लिएका छौँ । त्यसका लागि आजैबाट प्रतिबद्धता जनाऔँ । अब पुरानो ढंगले चल्ने अवस्था छैन । प्रशासनलाई प्रभावकारी बनाउन सबै प्रणालीलाई आइटीमा रूपान्तरण गरिन्छ, र यो काम एक वर्षभित्र सम्पन्न गरिनेछ ।”
त्यस्तै, उनले पशुपति क्षेत्रलाई भ्रष्टाचारमुक्त क्षेत्र बनाउने प्रतिबद्धता पनि व्यक्त गरे । भगवान पशुपतिनाथलाई साक्षी राखेर भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउने समय आएको उनको भनाइ थियो ।
“हामी सबैले प्रण गरौँ—पशुपति क्षेत्रलाई भ्रष्टाचारमुक्त बनाउनेछौँ । भ्रष्टाचारप्रति शून्य सहनशीलता कायम गर्नेछौँ । भगवान पशुपतिनाथलाई साक्षी राखेर यस्तो प्रतिबद्धता जनाउने बेला आएको छ,” उनले भने ।
कोषाध्यक्ष सापकोटाले अहिले कोषलाई नेपाल सरकारको पूर्ण सहयोग रहेको उल्लेख गर्दै यस्तो अवसरमा पनि काम गर्न नसके भविष्यमा अझ कठिन हुने बताए ।
“आज हाम्रो पछाडि सिंगो नेपाल सरकार छ । यस्तो अवस्थामा पनि हामीले केही गर्न सकेनौँ भने भविष्यमा झन् कठिन हुनेछ,” उनले भने ।
































