चितवन । रत्ननगर नगरपालिका–२ स्थित बकुलहरमा निर्माणाधीन मातृशिशु भवनको काम लामो समयदेखि ढिलाइ भएपछि बागमती प्रदेश सरकार का मन्त्रीहरूले चासो देखाएका छन्। भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा र स्वास्थ्य मन्त्री किरण थापा ले आइतबार बकुलहर रत्ननगर प्रादेशिक अस्पताल पुगेर निर्माणको प्रगति र समस्या बारे स्थलगत अनुगमन गरेका हुन्।
निर्धारित समय सकिँदासमेत भवन पूरा नभएपछि मन्त्रीहरूले निर्माण कम्पनी र प्राविधिक टोलीसँग ढिलाइको कारणबारे सोधपुछ गरेका थिए। अनुगमनका क्रममा मन्त्री देवकोटाले अब कर्मचारीमार्फत मात्र काम अघि नबढ्ने भन्दै निर्माण कम्पनीका मुख्य सञ्चालक स्वयं उपस्थित भई निर्धारित समयभित्र काम सम्पन्न गर्ने लिखित प्रतिबद्धता दिनुपर्ने निर्देशन दिए। उनले स्पष्ट रूपमा भने, प्रगति नदेखिए म्याद थप नहुने र आवश्यक परे कानुनी प्रक्रिया अघि बढाइनेछ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोपाल कर्माचार्यका अनुसार भवन अभावले अस्पतालको सेवा प्रवाह प्रभावित भएको छ। दैनिक करिब १५ सयदेखि १९ सय बिरामी आउने यस अस्पतालमा पर्याप्त पूर्वाधार नहुँदा उपचार सेवा विस्तार गर्न समस्या भइरहेको छ। डायलासिस मेसिन प्रयोगविहीन अवस्थामा छन् भने सिटी स्क्यान जडानका लागि समेत स्थान अभाव छ। ओपिडी कक्षमा एउटै कोठामा दुई चिकित्सक बस्नुपर्ने र एउटै बेडमा दुई बिरामी राखेर उपचार गर्नुपर्ने अवस्था रहेको उनले बताए। नयाँ भवन समयमै सम्पन्न भए सेवा सुधारमा ठूलो सहजता आउने अपेक्षा गरिएको छ।
शहरी विकास तथा भवन कार्यालयका महाशाखा प्रमुख भूपेन्द्र यादवका अनुसार निर्माणाधीन तीनतले भवनको करिब ७० प्रतिशत भौतिक प्रगति भइसकेको छ। मुख्य संरचना तयार भइसके पनि फिनिसिङ, एचभीएसी, स्यानिटरी तथा विद्युतीय जडानका काम बाँकी छन्। २०७८ चैत २३ मा सम्झौता भएको यो आयोजना २०८० मै सम्पन्न हुनुपर्ने भए पनि दुई पटक म्याद थप भइसकेको छ। अब भने पुनः म्याद नथप्ने र २०८३ जेठ २९ भित्रै काम सक्न निर्माण कम्पनीलाई दबाब दिइने उनले जानकारी दिए।
निर्माण कम्पनी ‘आशिष योगेश्वर गृह जेभी’ का प्रतिनिधि विराट गोलले भने प्रशासनिक जटिलता, साइट क्लियर गर्न ढिलाइ र आयोजना स्थानीय तहबाट प्रदेशमा हस्तान्तरण हुँदा देखिएको समन्वय अभावका कारण काम ढिलो भएको दाबी गरे। अब आवश्यक सामग्री आउने क्रममा रहेको र तोकिएको समयभित्रै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता उनले जनाए।
वि.सं. २०२४ मा स्वास्थ्य चौकीका रूपमा स्थापना भएको यो अस्पताल २०७७ मा ५० शैयाको प्रादेशिक अस्पतालमा स्तरोन्नति गरिएको थियो। यसअघि नै विशेषज्ञ प्रसूति सेवा सुरु गरिसकेको अस्पतालमा नयाँ मातृशिशु भवन निर्माण सम्पन्न भए भरतपुरतर्फको चाप कम हुने र स्थानीयले सहज रूपमा विशेषज्ञ सेवा पाउने अपेक्षा गरिएको छ।
































