काठमाडौँ । नेपाल सरकारका प्रधानमन्त्रीसहित १६ जना मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सार्वजनिक विवरणले सरकारका सदस्यहरूबीच नगद, सुन, घरजग्गा, शेयर लगानी र ऋणमा ठूलो भिन्नता देखाएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो आम्दानीको मुख्य स्रोत सामाजिक सञ्जाललाई देखाएका छन् । उनले बैंकमा १ करोड ४६ लाख रुपैयाँ मौज्दात रहेको उल्लेख गरेका छन् भने आफ्नै नाममा घरजग्गा नभएको जनाएका छन् । उनकी पत्नी सविना काफ्लेको नाममा १९० तोला सुन रहेको छ भने आमा–बुवाको नाममा काठमाडौं, धनुषा र महोत्तरीमा जग्गाजमिन रहेको छ ।
गृहमन्त्री सुधन गुरुङको ८९ तोला सुन र धनकुटामा १९ रोपनीभन्दा बढी जग्गा रहेको छ । उनले शेयर बजारमा ४ करोड ३१ लाखभन्दा बढी लगानी गरेका छन् ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग १ करोड ९० लाख नगद, ४५ तोला सुन र चारवटा घर रहेको छ । उनले विभिन्न बैंक तथा हाइड्रोपावरमा करोडौँको शेयर लगानी गरेका छन् भने ३ करोडभन्दा बढी ऋण लिएको विवरणमा उल्लेख छ ।
परराष्ट्रमन्त्री शिशिर खनालसँग १३ लाख नगद र २२ तोला सुन रहेको छ भने घरजग्गा बुवाको नाममा रहेको छ ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसँग ६४ लाखभन्दा बढी नगद, १५ तोला सुन र ५० तोला चाँदी रहेको छ । उनले १ करोडभन्दा बढी शेयर लगानी गरेका छन् ।
कानुनमन्त्री सोविता गौतमसँग काठमाडौं र चितवनमा घर, १५ तोला सुन, बैंकमा १० लाखभन्दा बढी रकम र सवारी खरिदका लागि लिएको ऋण रहेको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीसँग ५० हजार नगद, १५ लाख बैंक मौज्दात, १८ तोला सुन, १५ तोला चाँदी र पशुधनसमेत रहेको छ ।
भौतिक पूर्वाधार मन्त्री सुनील लम्सालसँग ९० लाख नगद, ३० तोला सुन, ५० तोला चाँदी र विभिन्न जिल्लामा जग्गाजमिन रहेको छ ।
संघीय मामिला मन्त्री प्रतिभा रावलसँग २४ लाखभन्दा बढी नगद, २५ तोला सुन, काठमाडौं र बारामा जग्गा तथा २० लाख ऋण रहेको छ ।
शिक्षामन्त्री सस्मित पोखरेलको कुल सम्पत्ति करिब २४ करोडभन्दा बढी रहेको छ । उनले घरजग्गा, सुन, चाँदी र शेयरमा लगानी गरेको विवरण सार्वजनिक गरेका छन् ।
कृषिमन्त्री गीता चौधरीसँग १ लाख २६ हजार नगद, ५ तोला सुन, १०० तोला चाँदी र पशुधन रहेको छ ।
उद्योगमन्त्री गौरी कुमारी यादवसँग १८० तोला सुन, २ किलो चाँदी, काठमाडौं र महोत्तरीमा ठूलो परिमाणमा जग्गा तथा ३ करोडभन्दा बढी शेयर लगानी रहेको छ । साथै उनले १ करोडभन्दा बढी ऋण लिएको उल्लेख छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलसँग घर, जग्गा, शेयर लगानी तथा १ करोड ४० लाख ऋण रहेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवसँग ८० तोला सुन, १५० तोला चाँदी र ७० लाखभन्दा बढी नगद रहेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनासँग काठमाडौंमा घरजग्गा, १० लाखभन्दा बढी नगद तथा उनले ४८ लाख रुपैयाँ सापटी दिएको विवरणमा उल्लेख छ ।
स्वास्थ्य, जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहतासँग १७ लाख नगद, ३० तोला सुन, ५० तोला चाँदी र कीर्तिपुरमा जग्गा रहेको छ ।
यसरी सार्वजनिक गरिएको सम्पत्ति विवरणले सरकारका सदस्यहरूको आर्थिक अवस्था, लगानीको क्षेत्र र आम्दानी स्रोतमा विविधता देखाएको छ । केही मन्त्रीहरूको आम्दानी स्रोत व्यवसाय र विदेश रोजगारीमा आधारित रहेको छ भने केहीको पैतृक सम्पत्तिमा निर्भर रहेको देखिन्छ ।

































