सहकारीको ऋण नतिर्नेलाई कारबाही गर्ने प्रशासनको चेतावनी

सहकारीको ऋण नतिर्नेलाई कारबाही गर्ने प्रशासनको चेतावनी

काभ्रेपलाञ्चोक, १३ फागुन:

सहकारीबाट ऋण लिएर नतिर्ने ऋणीलाई तत्काल ऋण चुक्ता गर्न प्रशासनले आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोक र जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले दुई सङ्कटग्रस्त सहकारीबाट ऋण लिएर नतिर्ने तथा सम्पर्कमा नआउने ऋणीलाई कारबाहीको दायरामा ल्याउने चेतावनी दिएका हुन्।

प्रहरीले बनेपा नगरपालिका–७ स्थित मुकुल बचत तथा ऋण सहकारी संस्था र बनेपा–१० स्थित पशुपति बचत तथा ऋण सहकारी संस्थाबाट ऋण लिई नतिर्ने ऋणीलाई सार्वजनिक सूचनामार्फत तत्काल रकम तिर्न आग्रह गरेको छ।

अनुसन्धान अधिकृत एवं प्रहरी निरीक्षक वेदनारायण श्रेष्ठका अनुसार ती दुवै सहकारीबाट ऋण लिएका १४२/१४२ जना ऋणीले ऋण चुक्ता नगरेकाले तोकिएको योजनासहित अनिवार्य रूपमा कार्यालयमा उपस्थित हुन सूचना जारी गरिएको हो।

उहाँका अनुसार दुवै सहकारीका सञ्चालक समितिका पदाधिकारीमाथि बचतकर्ताको रकम हिनामिना तथा ठगी गरेको अभियोगमा मुद्दा दायर गरिएको छ। तोकिएको पाँच दिनभित्र सम्पर्कमा नआएमा खोजी गरी कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि दिइएको छ।

जिल्लामा सञ्चालित करिब एक दर्जन सहकारीका सञ्चालकमाथि बचत रकम ठगीको उजुरी परेको छ। तीमध्ये सहकारी रकम अपचलन अभियोगमा २६ जना पक्राउ परिसकेका छन् भने ६७ जना सञ्चालक फरार सूचीमा रहेको प्रहरीले जनाएको छ।

Tokha