काठमाडौँको वायुप्रदूषण घट्दै, विश्वका प्रदूषित सहरमध्ये १८औँ स्थानमा
काठमाडौँको वायुप्रदूषण घट्दै, विश्वका प्रदूषित सहरमध्ये १८औँ स्थानमा
काठमाडौँ, ८ फागुन : काठमाडौँ उपत्यकाको वायुप्रदूषण क्रमशः घट्दै गएको छ। आज दिउँसो वायु गुणस्तर सूचकाङ्क (एक्युआइ) ९९ मा झरेको छ, जसले ‘सचेत रहनुपर्ने’ श्रेणी जनाउँछ। गत मङ्गलबार उपत्यकाको एक्युआइ १९१ पुगेको थियो भने बुधबार सोही समयमा घटेर ११४ मा झरेको थियो। हावा चल्ने दर बढेसँगै वायुप्रदूषणमा कमी आएको वातावरण विभागले जनाएको छ। एक्युआइ सूचकाङ्कअनुसार मङ्गलबार काठमाडौँ विश्वकै तेस्रो प्रदूषित सहरका रूपमा सूचीकृत भएको थियो। हाल भने १८औँ स्थानमा झरेको छ। अहिले Lahore ३७३ एक्युआइसहित पहिलो र Kolkata १८६ एक्युआइसहित दोस्रो स्थानमा रहेका छन्। वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले सुक्खा मौसममा वायुप्रदूषण बढ्ने र वर्षा तथा हावा चल्दा घट्ने जानकारी दिनुभयो। “वर्षाले हावामा रहेको धुलो तथा कणलाई जमिनमा झार्न मद्दत गर्छ र हावाले प्रदूषणका कणलाई फैलाएर कम गर्छ,” उहाँले भन्नुभयो। दिगो तथा वातावरणमैत्री विकासका उपाय प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई सुझाव दिइएको पनि उहाँले बताउनुभयो। वातावरणविद् भुषण तुलाधारले समयमै पूर्वतयारी, पातपतिङ्गर व्यवस्थापन, डढेलो नियन्त्रण, सवारीसाधनको धुवाँ परीक्षण तथा मापदण्डको कडाइका साथ कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। एक्युआइको मापदण्डअनुसार ०–५० ‘राम्रो’ (हरियो), ५१–१०० ‘सचेत रहनुपर्ने’ (पहेंलो), १०१–१५० ‘अस्वस्थ’ श्रेणीमा पर्छ। १५१–२०० ‘सबैका लागि अस्वस्थ’, २०१–३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ। विशेषज्ञका अनुसार विशेषगरी श्वासप्रश्वास तथा मुटुरोगीका लागि उच्च एक्युआइ जोखिमपूर्ण हुन सक्छ