निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई आयोगको स्पष्टीकरण, अनुगमन कडाइ
निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई आयोगको स्पष्टीकरण, अनुगमन कडाइ
काठमाडौँ, ४ फागुन : प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आचारसंहिताको पालनामा निर्वाचन आयोगले निगरानी थप कडा बनाएको छ। हालसम्म आचारसंहिता उल्लङ्घनसम्बन्धी ६६ उजुरी प्राप्त भएको र तीमध्ये सम्बन्धित राजनीतिक दल, उम्मेदवार तथा संस्थासँग स्पष्टीकरण मागिएको आयोगले जनाएको छ। आयोगका अनुसार प्राप्त उजुरीमध्ये ३२ वटाको जवाफ प्राप्त भइसकेको छ भने बाँकीको प्रतीक्षा भइरहेको छ। राजनीतिक दल, उम्मेदवार, सरकारी तथा गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारलाई समेत स्पष्टीकरण सोधिएको छ। दर्ता भएका सञ्चारमाध्यम र पत्रकारसम्बन्धी विषय भने प्रेस काउन्सिल नेपालमार्फत आवश्यक कारबाहीका लागि पठाइएको छ। जिल्लास्तरमा पनि आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरीहरू आइरहेका छन् र त्यहाँबाटै आवश्यक जाँचबुझ तथा कारबाही प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ। आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय तथा जिल्ला स्तरका अनुगमन समिति सक्रिय रूपमा परिचालित छन्। आयोगले सबै जिल्लामा आचारसंहिता पालनालाई सुनिश्चित गर्न सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रमुख कोष नियन्त्रकलाई अनुगमन अधिकृतको जिम्मेवारी तोकेको छ। सरोकारवालालाई आचारसंहिताबारे जानकारी गराउने र पालनाप्रति प्रतिबद्ध गराउने काम पनि तीव्र गतिमा भइरहेको बताइएको छ। निर्वाचन प्रक्रिया स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउने उद्देश्यसहित आयोगले प्राप्त उजुरीहरूमा अध्ययन गर्दै आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइरहेको जनाएको छ।