काठमाडौं । दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको पेट्रोलियम पदार्थको मूल्य फेरि समायोजन गरिएको छ। नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको जनाएको छ।
नयाँ समायोजनअनुसार पेट्रोलको मूल्य प्रतिलिटर एकले वृद्धि भएको छ भने डिजेल र मट्टीतेलमा प्रतिलिटर तीन ले मूल्य बढाइएको छ। मूल्य वृद्धिसँगै उपभोक्ताको दैनिक खर्चमा सामान्य प्रभाव पर्ने अपेक्षा गरिएको छ।
निगमका अनुसार काठमाडौँ, पोखरा र दिपायलमा अब पेट्रोलको मूल्य प्रतिलिटर १५६ कायम भएको छ। त्यस्तै सुर्खेत र दाङमा पेट्रोल १५५ प्रतिलिटरमा बिक्री हुनेछ।
चारआली, विराटनगर, अमलेखगन्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्ज क्षेत्रमा भने पेट्रोलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ। मट्टीतेलको नयाँ मूल्य प्रतिलिटर रु १४२ कायम भएको निगमले जनाएको छ।
विश्व बजारको उतारचढावसँगै स्थानीय बजारमा पनि समय-समयमा मूल्य समायोजन भइरहने भएकाले उपभोक्ताको चासो भने निरन्तर रहने गरेको छ।

































