राष्ट्रहित र स्वाभिमानका लागि एमालेलाई जिताऔँः ईश्वर पोखरेल

राष्ट्रहित र स्वाभिमानका लागि एमालेलाई जिताऔँः ईश्वर पोखरेल

अधुरा काम पूरा गर्न एमालेको जित आवश्यकः ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेबाट काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेलले परिचालन कमिटी घोषणा गरेका छन् । फागनु २१ गते हुने निर्वाचनलाई लक्षित गरेर पोखरेलले कमिटी बनाएका हुन् ।

एमालेका पूर्व महासचिव तथा पूर्व वरिष्ठ उपाध्यक्षसमेत रहेका पोखरेलले कार्यक्रममा निर्वाचनलाई देश जलाउने र बनाउनेबीचको लडाई भएको बताएका छन् । राष्ट्रिय स्वाभिमान, स्वाधिनता, स्वतन्त्रता र अखण्डताको पक्षमा उभिने शक्तिहरु एकजुट हुनुपर्ने उनको भनाइ छ । राष्ट्रियताको विपक्षमा उभिनेहरुलाई जनताले चिन्नुपर्ने पोखरेलको भनाइ छ । एमाले मुलुकको हितबाहेक अरु कुरामा ध्यान नदिने भन्दै उनले राष्ट्रिय स्वाभिमान, अखण्डता, सार्वभौमिकताको रक्षाका लागि एमालेका उम्मेदवारलाई जिताउनुपर्ने बताए ।

उनले भने–“विकास र निर्माणका मुद्धाहरु हामीले उठाउँदै आएका छौँ । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा धेरै राम्रा कामको सुरुवात भएका थिए । पूरा नभएका काम सम्पन्न गर्नका लागि एमालेले जित्नुपर्छ । एमाले चाहन्छ, राजनीतिक स्थायित्व ।”

देशलाई टिकाउन र अघि बढाउन स्थायित्व आवश्यक रहेको उनको भनाइ छ । सामाजिक सद्भाव कायम गर्नुपर्ने समयमा एमालेको आवश्यकता रहेको पोखरेलले बताए । सबै जातजाती, भाषा, संस्कृति, धर्म र समुदायबीच एकता कायम राख्नुपर्ने उनको जोड छ ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा विगतमा उम्मेदवार बन्दा गरेका बाचा धेरै पूरा भएको र अब थप काम गर्नका लागि आफू मैदानमा उत्रिएको उनको भनाइ छ । “म यो निर्वाचन क्षेत्रमा विगत ३० वर्षदेखि संलग्न छु । यहाँका मतदातालाई नजिकबाट चिनेको छु । म बाच्दाको जन्ती र मर्दाको मलामी भएर यो क्षेत्रमा बसेको छु । चुनावी नतिजा जेसुकै आए पनि विचलित हुनेछैन ।”
आफूमाथि लगाइने गरेका आरोपमा कुनै दम नभएको जिकिर गर्दै उनले जीवनभर अवैध, कानुनविपरित र जनताको हित विपरितका कुनै काम नगरेको पोखरेलले स्पष्ट गरे । एमालेमा आवद्ध कसैले पनि भ्रष्टाचार नगर्ने उनको भनाइ छ ।

प्रतिनिधिसभा निर्वाचन प्रदेश र स्थानीय तहको निर्वाचनसँग पनि जोडिएकाले एमालेले जित्नुपर्ने उनको तर्क छ ।

 

Tokha