गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले प्रयोग गर्दै आएको सवारी साधन गोरखामा तोडफोड गरिएको छ । भीमसेन थापा नगरपालिका-३ मा आयोजित पार्टीको सांगठनिक कार्यक्रममा सहभागी हुन पुगेका बेला उनको गाडीमाथि अज्ञात व्यक्तिहरूले आक्रमण गरेका हुन् ।
पार्टीका अनुसार, परियार सहभागी भएको कार्यक्रमस्थल नजिकै पार्किङ गरी राखिएको गाडीलाई लक्षित गर्दै रातिको समयमा सिसा फुटाइ क्षति पुर्याइएको हो ।
रास्वपाका प्रवक्ता मनिष झाले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यसलाई आपराधिक र गैरराजनीतिक गतिविधि भएको बताएका छन् । उनले लोकतान्त्रिक अभ्यासविरुद्ध हुने यस्ता कार्य अस्वीकार्य रहेको उल्लेख गर्दै दोषीलाई तत्काल पहिचान गरी कानुनी कारबाही गर्न माग गरे ।
घटनाबारे स्थानीय प्रहरीलाई जानकारी गराइसकिएको र प्रहरीले घटनास्थलको मुचुल्का उठाई आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। तोडफोडमा संलग्न व्यक्तिहरूको खोजी तथा घटनाको कारण पत्ता लगाउने कार्य भइरहेको प्रहरीको भनाइ छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा राजनीतिक गतिविधि तीव्र बन्दै गएको अवस्थामा यस्ता घटनाले सुरक्षा चुनौती थपिएको देखिएको छ।
































