काठमाडौं । प्रसिद्ध गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ। भारतीय टेलिभिजन रियालिटी शो ‘इन्डियन आइडल-३’ का विजेता तामाङको आज दिल्लीस्थित आफ्नै निवासमा निधन भएको हो।
चलचित्रकर्मी राजेश घतानीले तामाङको निधनको पुष्टि गरेका हुन्। नेपाली मूलका भारतीय नागरिक तामाङ नेपाल र नेपालीभाषी माझ अत्यन्तै लोकप्रिय थिए। इन्डियन आइडलको उपाधि जितेसँगै उनी विश्वभरका नेपालीहरूको ढुकढुकी बनेका थिए।
सांगीतिक र फिल्मी यात्रा प्रशान्त तामाङले दर्जनौँ चर्चित नेपाली गीतहरूमा स्वर दिएका छन्। गायनमा स्थापित भएपछि उनी नेपाली चलचित्र क्षेत्रमा पनि सक्रिय भएका थिए। उनले ‘गोर्खा पल्टन’, ‘निशानी’, र ‘परदेशी’ जस्ता सफल नेपाली चलचित्रहरूमा मुख्य भूमिका निर्वाह गरेका थिए।
हालैका वर्षहरूमा उनले बलिउडमा समेत पाइला चालेका थिए। उनले बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘ब्याटल अफ गलवान’ मार्फत बलिउडमा डेब्यु गरेका थिए।
उनको असामयिक निधनले संगीत र चलचित्र क्षेत्रमा अपूरणीय क्षति पुगेको छ। सामाजिक सञ्जालमा विभिन्न कलाकार र प्रशंसकहरूले उनलाई श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।
































