१४ महिनाभित्र वडा-९ का सबै विकास कार्य सम्पन्न गर्छौँ : वडाध्यक्ष रामभक्त घिमिरे

१४ महिनाभित्र वडा-९ का सबै विकास कार्य सम्पन्न गर्छौँ : वडाध्यक्ष रामभक्त घिमिरे

टोखा नगरपालिका-९ का वडाध्यक्ष रामभक्त घिमिरे २०७९ साल जेठ २ गतेदेखि नेतृत्वमा रहँदै आएका छन् । वडाध्यक्षको जिम्मेवारी सम्हालेपछि उनले शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधार र सेवा प्रवाह सुधारलाई प्राथमिकतामा राख्दै काम गर्दै आएका छन् । प्रविधिमैत्री सेवा, सार्वजनिक जग्गा संरक्षण, युवा लक्षित सीपमूलक तालिम, खेलकूद प्रवद्र्धन र पारदर्शितामार्फत सुशासन कायम गर्ने प्रयाससँगै टोखा–९ ले विकासको नयाँ गति लिएको छ । वडाध्यक्ष घिमिरेसँग समृद्धन्युजका लागि लिइएको अन्तरवार्ता यहाँ प्रस्तुत गरिएको छ ।

तपाई वडाध्यक्ष भएपछि केके गर्नुभयो ?

२०७९ जेठ २ गतेदेखि मैले वडाध्यक्षको भूमिका सुरु गर्दा यहाँ शिक्षा, स्वास्थ्य र खानेपानीको अवस्था दयनीय थियो । त्यसलाई सुधार गर्दै जनताको पहुँचसम्म पुगने गरी काम गर्यौँ । बाटो, सडक, खानेपानी र ढलको क्षेत्रमा ८५ प्रतिशत काम सम्पन्न गरिसकेका छौँ । अब बाँकी कार्यकाल १४ महिनामा सबै काम सम्पन्न गर्छौँ । विकास निर्माणमा निकै फड्को मार्नेछौँ ।

शिक्षा क्षेत्रमा यस वडाले के काम गरेको छ ?

यस वडामा सामुदायिक विद्यालय छैन । एउटा वैकल्पिक चेतना महिला विद्यालय छ । त्यसलाई राम्रो तरिकाले संचालन गरिरहेका छौँ । जहाँ विभिन्न उमेर समूहका महिला पढिरह छन् जो नियमित पढ्ने पढ्ने उमेर घर्किएपछि विद्यार्थी बनेर पढाई सुरु गरिरहेका छन् । यो विद्यालय टोखा नगरपालिकाकै उत्कृष्ट विद्यालयमध्येमा पर्छ । वैकल्पिक शिक्षा दिने विद्यालय भए पनि चेतना महिला विद्यालयलाई टोखा नगरपालिकाले सामुदायिक विद्यालय सरह नै प्रोत्साहन गर्ने गरेको छ । त्यसैगरी संस्थापक विद्यालयसँग छलफल गर्दै अघि बढेका छौँ । शैक्षिक गुणस्तर बढाउन र कोही पनि शिक्षाबाट बञ्चित नहोस् भनेर सचेत छौँ ।

स्वास्थ्य क्षेत्रमा केके काम गर्नुभयो ?

समय समयमा स्वास्थ्य शिविर गर्दै आएका छौँ । बालबालिका, ज्येष्ठ नागरिक, महिलालाई विशेष सेवा दिने गरेका छौँ । प्राथमिकत स्वास्थ्य केन्द्रलाई अझै व्यवस्थित गर्दै लैजाने नीति लिएका छौँ । नेपाल सरकारले निःशुल्क दिने भनेका औषधि र खोप यहाँबाट वितरण गर्छौँ ।

खेल क्षेत्रमा केके सञ्चालन भइरहेका छन् ?

खेलकूदको विकासको लागि फुटसल, ब्याडमिन्टन, टेबल टेनिस जस्ता खेलहरु खेल्ने व्यवस्था गरेका छौँ । युवा, बालबालिकालाई खेलकूदमा सहभागि गराएका छौँ ।

संस्कृति संरक्षणमा केके गर्नुभयो ?

यहाँ रहेका विभिन्न जातीहरुको धार्मिक र सांस्कृतिक पक्षलाई प्रवद्र्धन गर्ने गरेका छौँ । विभन्नि बाजागाजाको संरक्षण गरेका छौँ ।

सार्वजनिक जग्गा संरक्षणमा केके काम गर्नुभएको छ ?

केहीअघिसम्म सार्वजनिक जग्गा अतिक्रमण थियो । त्यस्ता जग्गालाई फिर्ता ल्याएका छौँ । अन्य जग्गाको पनि खोजी गरिरहेका छौँ ।

सेवा प्रवाह कसरी भइरहेको छ ?

प्रविधिमैत्री सेवा प्रवाह गरेका छौँ । चुस्त, दुरुस्त र छिटो काम गर्ने गरेका छौँ । चाहिने जति कागजपत्र ल्याएको अवस्थामा १५ मिनेटभित्र काम सम्पन्न हुन्छ ? गुनासो र सुझाब पेटिका राखेका छौँ । मेलबाट नि सुझाब पठाउन सक्नेछन् । त्यस्ता सझुाब अध्यनन गरेर कार्यान्वयन गछौँ ।

कृषि क्षेत्रमा केके गर्नुभएको छ ?

टोखा नगरपालिकामा कृषियोग्य जमिन छैन । यहाँका नागरिक कृषिमा आवद्ध हुने अवस्था छैन । तर पनि कौसी खेतिलाई प्रोत्साहन गर्ने गरेका छौँ । हिउँदे र वर्षे तरकारीका बिउ वितरण गर्ने गरेका छौँ ।

भ्रष्टाचार नियन्त्रण गर्न केके गर्नुभएको छ ?

भ्रष्टाचार भएको कसैले थाहा पाएमा सामाजिक सञ्जालदेखि अन्य विभिन्न माध्यमबाट खबर गर्न अनुरोध गरेका छौँ । अहिलेसम्म भ्रष्टाचार गरेको थाहा पाएको छैन ।

रोजगारी र उद्यमका लागि केके व्यवस्था छ ?

स्वरोजगार बन्न चाहनेका लागि विभिन्न तालिम दिइरहेका छौँ । वासिङ मेसिन, फ्रिज, एसी मर्मतको तालिम दिइरहेका छौँ । सीपमुलक तालिमका लागि धेरै कार्यक्रम गरिरहेका छौँ ।

फोहोर व्यवस्थापन कसरी गर्नुभएको छ ?

फोहोर व्यवस्थापनका लागि कम्पनीहरुलाई जिम्मा दिएका छौँ । कुहिने र नकुहिने फोहोर छुट्टयाएर उठाउने गरेका छौँ । हप्ताको दुइ दिन फोहोर उठाउने र सरसफाई गर्ने मान्छे खटाएका छौँ ।

Tokha