हामी जनतालाई विश्वासघात गर्दैनौँ, भ्रष्टाचार शून्य र सेवा चुस्त बनाउँदै छौँ : वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठ

हामी जनतालाई विश्वासघात गर्दैनौँ, भ्रष्टाचार शून्य र सेवा चुस्त बनाउँदै छौँ : वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठ

टोखा नगरपालिकामा २०७९ सालमा निर्वाचित भएर आएका जनप्रतिनिधिहरुले गरेको कामको विभिन्न सन्दर्भ र समयमा चर्चा भइरहेको छ । समग्र नगरपालिकाले गरेको काम एउटा पाटो भयो भने वडाहरुको कामको चर्चा बेग्लै छ । यसैसन्दर्भमा वडा नम्बर ४ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठसँग विशेष कुराकानी गरिएको छ । सेवा प्रवाहदेखि सम्पदा संरक्षणसम्म वडाले केके काम गर्यो त ? यावत प्रश्नको जवाफ खोज्ने प्रयास गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

२०७९ मा निर्वाचित भएपछि गर्नुभएको महत्वपूर्ण कामहरु केके छन् ?

विकास निर्माणका कामहरु तीब्रताका साथ गरिरहेका छौँ । उपभोक्ता समिपिमार्फत र ठेक्का सम्झौतामार्फत कामहरु भइरहेको छ ।

शिक्षा क्षेत्रको अवस्था कस्तो छ ?

यस वडामा सामुदायिक विद्यालय एउटा मात्रै छ । धापासी मावि हो । ७२ सालको भूकम्पले विद्यालयको भवन भत्काएको थियो । ३६ सालमा बनेको विद्यालयको अहिले नयाँ भवन निर्माण गरेर पठन पाठन गराइरहेका छौँ । शैक्षिक सुधारलाई दिनुपर्छ भनेर काम गरिरहेका छौँ । नगरपालिकाले विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गरेको छ ।

स्वास्थ्य क्षेत्रमा के कस्ता काम गर्नुभएको छ ?

यस वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालन गरेका छौँ । नेपाल सरकारले दिने आधारभुत सेवा उक्त केन्द्रबाट दिइरहेका छौँ । अक्सिजन कन्सन्ट्रेटर पनि उपलब्ध गराएका छौँ । हामीसँग भएको ६ वटा अक्सिजन कन्सन्ट्रेटरमध्ये एउटा स्वास्थ्य सेवा केन्द्रमा राखेका छौँ भने अरु ५ वटा चाँही आवश्यकताअनुसार घरघरमा भएका विरामीलाई उपलब्ध गराएका छौँ । नियमित अक्सिजन चाहिने विरामीलाई घरघरमै सेवा दिएका छौँ । त्यसैगरी सामुदायिक फार्मेसी सेवा पनि प्रदान गर्दै आएका छौँ ।

खेल क्षेत्रमा केके गर्नुभयो ?

हाम्रो वडामा खेल क्षेत्रमा रुची भएका भाइबहिनीहरु नै छैनन् । क्लब त तीन चार वटा छ । तर पनि खेलकूदप्रति आकर्षित भएको पाइदैन । यद्यपी हामीले वडाव्यापी, नगरव्यापी खेलकूद प्रतियोगिता हुँदा सहभागि गराउने गरेका छौँ ।

संस्कृति र सम्पदाको क्षेत्रमा के काम भइरहेको छ ?

यस वडामा ६४ सालदेखि रथजात्रा गराउने गरेका छौँ । पहिले टोखामा मनाउने उक्त रथजात्रा (विष्केट जात्रा) अहिले धापासीमा गर्छौँ । यहाँको परम्परालाई निरन्तरता दिन नियमित रुपमा विभिन्न कार्यक्रम गर्ने गरेका छौँ । नेपाल संवदका अवसरमा पनि विभिन्न कार्यक्रम गरेर मनाउने गरेका छौँ । गणेश मन्दिर, चण्डेश्वरी मन्दिर र कृष्ण मन्दिर जिर्णोद्धार गरेका छौँ । सबै मन्दिरलाई कलात्मक ढंगले पुनः निर्माण गरिएको छ । यहाँ धापासी ब्यान्चुली बासुरी बचाउ अभियान सुरु भएको छ । बासुरी खलक, धिमे बाजा, धान खलहरु छन् ।

सार्वजनिक जग्गा अतिक्रमण र प्रयोगको अवस्था के छ ?

अतिक्रमण भएका धेरै जग्गा फिर्ता ल्याइसकेका छौँ । सबैभन्दा ठूलो ३२ रोपनी जग्गा आंशिक रुपमा तारबार घेर्नका लागि पोलहरु गाडिएको छ । सार्वजनिक जग्गामा लाम्पाखा पार्क बनाएका छौँ । त्यसैगरी गणेश पार्क पनि बनाएका छौँ । त्यहाँ सामुदायिक भवन बनाउने काम पनि सुरु गरेका छौँ । १ रोपनी जग्गामा बनेको धापासी माविलाई ५ रोपनी जग्गामा भवन निर्माण गरेका छौँ । ३९ आना जग्गामा कभर्ड हल बनाउने निर्णय भए पनि विवाद भएपछि त्यहाँ क्रियापुत्री र योगाका लागि भवन बनाउने निर्णय भएको छ ।

दैनिक सेवा प्रवाह कसरी प्रदान गरिरहनुभएको छ ?

सेवा प्रवाहमा प्रविधिको प्रयोग विस्तार गरिरहेका छौँ । तर समयको मागअनुसार पर्याप्त गर्न सकिएको छैन । नागरिकताको फर्म अनलाइनमार्फत भर्ने व्यवस्था गरिएको छ । फोटोकपी सेवा निःशुल्क दिइएको छ । सूचना प्रवाहलाई अनलाइनमार्फत गरिएको छ । कर संकलन क्यूआर कोडमार्फत गर्न सुरु भएको थियो, तर अहिले विभिन्न कारणले रोकिएको छ । सेवा प्रवाहलाई ढिलासुस्ती हुन दिएका छैनौँ । कुनै पनि काम गर्दा भ्रष्टाचार हुन दिदैनौँ । अहिलेसम्म सेवाग्राही वा नागरिकले भ्रष्टाचार भएको गुनासो गर्नुपरेको छैन । हामी जनतालाई विश्वासघात गर्दैनौँ ।

कृषि पेशामा लाग्न चहनेले केके सुविधा पाएका छन् ?

यो वडामा भएका जग्गा जमिन कुनै बेला कृषियोग्य थिए । अहिले सबै आवासीय भइसके । २५ प्रतिशत जति जमिन चाँही अझै पनि कृषियोग्य नै छन् । त्यहाँ कृषि कर्म गर्न चाहने किसानलाई सहुलियत र अनुदानको व्यवस्था गरेका छौँ ।

स्वरोजगारको क्षेत्रमा केके गर्नुभयो ?

रोजगारी सृजनाको हकमा विभिन्न कार्यक्रम सञ्चालन गरेका छौँ । मन्टेश्वरी तालिम, आधारभुत कम्प्युटर, सिलाइबुनाइ जस्ता तालिम दिइरहेका छौँ । चण्डेश्वरी महिला सञ्जालमार्फत आयमूलक र सीपमूलक तालिम दिने गरेका छौँ ।

फोहोर व्यवस्थापनमा केके चुनौती छन् ?

फोहोर व्यवस्थापनका लागि डस्टबिन र किचेन बिन वितरण गरेका छौँ । कुहिने र नकुहिने फोहोरलाई फरक फरक तरिकाले व्यवस्थापन गर्न तालिनम पनि प्रदान गरेका छौँ । कुहिने फोहोरलाई मलको रुपमा प्रयोग गर्नका लागि कौशी खेतिलाई प्रोत्साहन गरेका छौँ । कोशी खेतिलाई सहज बनाउन गमलाहरु वितरण गरेका छौँ ।

यस वडाका नागरिकलाई केही भन्नु छ ?

यस वडाका जनता, आमा बुबा, दिदी भाइहरुले मलाई दोस्रो पटक विश्वास गरेर निर्वाचन जिताउनुभएको हो । उहाँहरुको विश्वास जित्नका लागि मैले काम गरिरहेको छु । तर सामाजिक सञ्जालमार्फत झुटा र भ्रामक प्रचार गर्ने गरेको देख्दा दुःख लाग्छ ।त्यस्तो काम नगर्नुहुन अनुरोध गर्दछु । कुनै गुनासो भए वडामै आएर सोध्न वा फोनमार्फत पनि जानकारी लिनुहुन अनुरोध छ ।

Tokha