नवलपरासी । नारायणगढ-बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डमा ३३ मध्ये सबै पुल निर्माणको काम पूरा भएको छ । नवलपरासीको बर्दघाट-सुस्तापूर्व नवलपुर क्षेत्रमा पर्ने पुल निर्माणको काम सम्पन्न भएको जानकारी आयोजनाका सूचना अधिकारी शिव खनालले दिएका छन् ।
गैँडाकोटदेखि दाउन्नेसम्मको पूर्वी खण्डमा कुल ३४ पुल निर्माण गर्नुपर्नेमा अहिले एउटा मात्रै, अर्थात् अरुणखोला पुलको काम बाँकी रहेको छ। यस खण्डमा २५ मिटर सम्मका २२ छोटा पुल र २५ मिटरभन्दा लामो १२ पुल निर्माण गर्ने योजना थियो। खनालका अनुसार अरुणखोला पुलको काम अन्तिम चरणमा पुगेको छ।
निर्माण भएका पुलमध्ये केरुङ्गे खोला र चोरमाराको गिरुबारी खोलामा ‘एप्रोच’ सडक निर्माणको काम जारी छ। केही दिनमै यी पुलबाट सवारी सञ्चालन सम्भव हुने छ। दाउन्ने क्षेत्रमा केही कल्भर्ट निर्माणको काम अन्तिम चरणमा छ ।
सडक विस्तार आयोजनाको हालसम्म भौतिक प्रगति ७६ प्रतिशत पुगेको छ । पूर्वी खण्डका दाउन्ने बाहेकका क्षेत्रमा अधिकांश कालोपत्रको काम सकिएको हुँदा यात्रा सहज भएको छ। तर दाउन्ने क्षेत्रमा सडक ढलान अझै बाँकी रहेको छ ।
यो सडक आयोजना २०७५ माघ २४ गते सम्झौता गरी २०७९ साउन २२ गते सम्पन्न गर्ने लक्ष्यसहित चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसनले सुरु गरेको हो । ११३ किलोमिटर लामो सडक दुई खण्डमा विभाजन गरेर निर्माण भइरहेको छ। निर्धारित समयमा काम सम्पन्न नभएपछि म्याद चौथोपटक थपेर २०८३ असारसम्म पुर्याइएको छ ।
योजनाको कुल लागत १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ रहेको छ । सडकको ७० किलोमिटर चार लेन र २९ किलोमिटर चार लेनसहित दुवैतर्फ ६-६ मिटर सर्भिस लेनको हुनेछ। दाउन्ने क्षेत्रमा १४ किलोमिटर सडक तीन लेनको निर्माण हुनेछ ।
































