गहनापोखरी पुनःनिर्माणको थालनी, १० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य

गहनापोखरी पुनःनिर्माणको थालनी, १० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य

काठमाडौं । काठमाडौ महानगरपालिका वडठा नम्बर ५ मा रहेको ऐतिहासिक सम्पदा गहनापोखरी पुनःनिर्माणको शिलान्यास गरिएको छ । सोमबार पोखरी निर्माणस्थल हाँडीगाउँमा महानगरको वडा न ५ का जनप्रतिनिधिले शिलान्यास गरेका हुन् ।

निर्माणको ठेक्का सुजन राज जेभीले लिएको छ भने लागत ५ करोड २० लाख   ५ हजार ५ सय २७ रुपैयाँ रहेको छ । निर्माण सम्पन्न गर्न २०८३ साल असोज ३० गतेसम्मको समयसिमा तोकिएको छ ।

यसअघि २०५७ सालमा बनाएको भए पनि त्यसबेला मौलिकता कायम गर्न नसकेकाले अहिले पुनःनिर्माण गर्न लागिएको हो । अर्को वर्षको असोज ३० गतेभित्रै निर्माण सम्पन्न गरिने वडानम्बर ५ का अध्यक्ष विरेन्द्र प्रजापतीले जानकारी दिए ।

यो सम्पदा स्थानीय नागरिकका लागि मात्र नभएर देशैभरका नागरिकका लागि महत्वपूर्ण भएको प्रजापती बताउँछन् ।
“हाँडीगाउँ प्राचीन शैलीमा फर्काउने गुरुयोजनाअन्तर्गत हामीले काम गरिरहेका छौँ,” पुनःनिर्माणका विषयमा वडाध्यक्ष वीरेन्द्र प्रजापती भन्छन्, “मौलिकता र सांस्कृतिक पहिचान, पुनःनिर्माणका मुख्य आधार हुन् । विगतमा भएका कमजोरी सच्याउँदै अहिले हामी प्राचीन शैली पछ्याइरहेका छौँ । सांस्कृतिक मूर्त सम्पदाको पुनःस्थापनामा कापाको यो महत्वपूर्ण योजना हो ।”

शिलान्यास गर्नुअघि अघिल्लो हप्ता क्षमा पूजा गरेर पुनः निर्माणको थालनी गरिएको थियो ।

 

गहना पोखरी, त्यसको वरिपरी पैदलमार्ग, हरियाली प्रवद्र्धन र सडक आडमा भएका खाली ठाउँमा फल्चा, खेल्ने ठाउँलगायत संरचना हुनेछन् । त्यसमध्ये १३ हजार वर्गफिटमा पोखरी निर्माण हुनेछ । पोखरीको वरिपरी ६ फिटदेखि ८ फिटसम्मको पैदलमार्ग हुनेछ । त्यसको बाहिर कालोपत्र सडक छ ।

यसको बाहिर दक्षिणतर्फ एक सय वर्गफिट क्षेत्रफलको ३ कवलको एउटा र उत्तरपट्टी ३१७ वर्गफिट क्षेत्रफल भएको ९ कवलको एउटा फल्चा निर्माण हुनेछ । दक्षिण–पश्चिममा २९६ वर्गफिट क्षेत्रफलको प्रहरी विट निर्माण हुनेछ । यसको नजिकमा ५९० वर्गफिट क्षेत्रफल भएको भवन निर्माण हुनेछ । जसको तल्लो तलामा पर्यटक सूचना केन्द्र र माथिल्लो तलामा पुस्तकालय हुनेछ ।

गहना खोज्ने जात्रा सञ्चालन हुने पोखरी, कुनै बेला आगो निस्किरहने तलाउ थियो । त्यहाँ सुनको पेटिका प्रकट हुन्थ्यो । त्यो पेटिकालाई कसैले लिने प्रयास ग¥यो भने ऊ तलाउमा डुब्थ्यो । त्यहाँबाट फर्कनै सक्दैनथ्यो । त्योे पेटिकाको सुन भावी बुद्ध बोधिसत्व मैत्रेयको मुकुटको सुन थियो भन्ने गरिन्छ । यसलाई अग्निवमन गर्ने नागहरूले सुरक्षा दिएर राखेका थिए ।

Tokha