महोत्तरी । सरकारले सोमबार उखुको मूल्य तथा अनुदान दर तय गरेपछि महोत्तरीका किसानले मागअनुसार मूल्य नपाए पनि गत वर्षभन्दा वृद्धि भएको भन्दै चित्त बुझाएका छन् । सरकारले चिनी उद्योगलाई प्रतिक्विन्टल ६२० र सरकारको तर्फबाट ७० रुपैयाँ अनुदानसहित उखुको दर ६९० तोकेको हो ।
उखु उत्पादक संघका अध्यक्ष नरेशसिंह कुशवाहाका अनुसार कुल मूल्य गत वर्षभन्दा प्रतिक्विन्टल ७० ले बढेको छ । किसानको माग भने प्रतिक्विन्टल ७५० थियो ।
हाल खुट्टी उखु काटेर समयमै अर्को बाली लगाउनुपर्ने दबाब पुगेपछि किसानको चासो उद्योग कहिले खुल्छ भन्नेमा केन्द्रित छ । ‘अब ढिलाइ भई खेत बाँझो नहोस् भनेर चाँडै क्रसिङ सुरु होस् भन्ने अपेक्षा छ,’ किसानले बताएका छन् ।
उखु क्रसिङ ढिलो हुँदा खेती चक्र बिग्रने जोखिम रहेको किसानहरू बताउँछन् । बर्दिवास-पशुपनिनगरका किसानका अनुसार पुस तेस्रो साताभित्र अर्को फसल नलगाए असारसम्म प्रतीक्षा गर्नु पर्ने बाध्यता सिर्जना हुन्छ ।
गौशाला-१ मा रहेको एभरेष्ट सुगर उद्योगले मूल्य घोषणा भइसकेकाले चाँडै क्रसिङ सुरु गर्ने तयारी गरेको जनाएको छ । उद्योगले यस वर्ष पुस पहिलो साताभित्रै क्रसिङ सञ्चालनमा ल्याउने योजना बनाएको छ ।
यस वर्ष जिल्लामा ९ हजार ६०० बिघामा उखु खेती भएको छ, जसमध्ये ५ हजार बिघा खुट्टी र ४ हजार ६०० बिघा मुडन बाली रहेको संघले जनाएको छ ।
































