काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष हुन् मुकुन्द प्रसाद गजुरेल । निर्वाचन अघि सबै उम्मेदवारले जनतामाझ अनेकौँ बाचा गर्ने गर्दछन् । तर चुनाव जितेपछि तिनै जनता बिर्सन्छन् । वडाध्यक्ष गजुरेलले केके बाचा गरेका थिए र केके पूरा गरे त ? समृद्धन्यूजले उनीसँग सवाल-जवाफ गरेको छ । हाम्रो सवाल अनि वडाध्यक्ष गजुरेलको जवाफ यहाँ प्रस्तुत गरिएको छ ।
सडक र बाटो निर्माणमा कति उपलब्धि हासिल गर्नुभयो ?
२०७४ सालमा म पहिलो पटक निर्वाचित हुँदा साँखु चावाहिल सडकखण्ड हिलाम्मे थियो । हिँड्न लायक थिएन । पहिलो पटकको कार्यकाल र अहिले दोस्रो पटकको तीन वर्षसम्म उक्त सडकखण्डको स्तरोन्नतिको काम गरेका छौँ । ब्रम्हखेलदेखि लोकतान्त्रिक शहीद पार्कसम्म ८ किलोमिटर सडक ढलान र कालोपत्रे गरेका छौँ । कटुवाफाँटदेखि सुन्दरीजल जाने बाटो पनि संघ र प्रदेशको सहयोगमा ठेक्का भइसकेको छ । त्यसैगरी अधिकारी गाउँ सडक पनि निर्माण भइसकेको छ । पिपलडाँडा क्षेत्रको २ किलोमिटर सडक पनि स्तरोउन्नति भइसकेको छ । सातगते कुइंकेल गाउँ शहीद पार्क सडक पनि ठेक्का लागिसकेको छ । कागेश्वरी चक्रपथखण्डको गागल क्षेत्रको सडक करिब ३ किलोमिटर स्तरउन्नति भइसकेको छ । रामजानकी मार्गको सडकको ३ किलोमिटर खण्ड २६ फिटको बाटो बनिसकेको छ । अन्य सडकखण्डहरु पनि धमाधम बनिरहेका छन् । पहिलो प्राथमिकता सडक, बाटोलगायतका पूर्वाधार निर्माणलाई दिएका छौँ । ग्रामिण जनजीवनलाई शहरी सुविधामा रुपान्तरण गर्र्दै सहज बनाउने प्रयास गरिरहेका छौँ ।
खानेपानी, शिक्षा र स्वास्थ्यको अवस्था के छ ?
खानेपानीको कुनै समस्या छैन । २४ सै घण्टा खानेपानीको सुविधा छ । धारामा पानी कुनै पनि बेला बन्द हुँदैन । एक घर एक धाराको अवधारणाअनुसार १४ वटा धारा जडान गरिसकिएको छ । स्वास्थ्य चौकीका लागि भवन पूर्वाधार बनिसकेको छ । शिक्षामा कुनै समस्या छैन । विगतमा विद्यालयको भौतिक संचरनामा समस्या थियो । अवस्था नाजुक थियो । अहिले शैक्षिक गुणस्तरमा धेरै सुधार गरेका छौँ । सामुदायिक विद्यालयहरु उत्कृष्ट छन् । विद्यार्थी उत्तीर्ण प्रतिशत धेरै राम्रो छ । बालि विज्ञानको पढाई पनि सुरु गरिसकेका छौँ । जसले व्यवसायिक कृषिमा लाग्नेका लागि उपयोगि हुनेछ । वडामा सेवा सुविधा बढेसँगै बाहिरबाट पनि बसाईसराइ गरेर आउने क्रम बढिरहेको छ ।
पर्यटन र संस्कृति क्षेत्रमा केके गर्नुभयो ?
पर्यटकीय गन्तव्यको रुपमा विकास गरेर आर्थिक आर्जन गर्ने रणनीति लिएका छौँ । कागेश्वरी महादेव महत्वपूर्ण धार्मिकस्थल रहेको छ, जसलाई धामको रुपमा विकास गरेका छौँ । गुम्बा र मन्दिर निर्माण तथा पुनः निर्माण गरेका छौँ । लोकतान्त्रिक शहीद उद्यानको स्तरउन्नति गरेका छौँ । समृद्ध गागल निर्माणका लागि पार्क पनि बनाएका छौँ । अहिले वडा नम्बर एकका विभिन्न स्थान पिकनिक स्थलको रुपमा विस्तार भइरहेको छ । विश्वकै ठूलो कागको मूर्ति निर्माण गरेका छौँ । जसलाई गिनिज बुक अफ रेकर्डमा दर्ता गराउने प्रयास गरिरहेका छौँ । तपाईं दिनुस कवाड हामी बनाउँछौँ सम्पदा अभियानअन्तरगत गागलदेखि गोठाटारसम्म कवाड संकलन गरेर सम्पदा निर्माण गरेका छौँ ।
खेलकुद क्षेत्रको विकासका लागि केके योजना छन् ?
स्वास्थ्यका लागि खेल र राष्ट्रका लागि खेल भन्ने अवधारणाअनुसार काम गरिरहेका छौँ । तपाई हामीले स्वास्थ्यका लागि खेल्नुपर्छ भने सानै उमेरदेखि बालबालिकालाई खेलाउन सक्यो भने त्यो राष्ट्रका लागि हुन्छ । आवश्यक खेलकुद सामग्री वितरण गरिरहेका छौँ । फुटसल खेल्ने ठाउँमा पनि निर्माण गरिसकेका छौँ । यो वर्ष एन्फासँग सहकार्य गरेर व्यवसायिक फुटबल खेलाडी उत्पादन गर्ने लक्ष्य लिएका छौँ ।
सार्वजनिक जग्गाको सुरक्षा कसरी गर्नुहुन्छ ?
व्यक्तिले कब्जा गरेको सार्वजनिक जग्गा फिर्ता ल्याउने काम भइरहेको छ । बालउद्धार मावि सार्वजनिक जग्गा फिर्ता ल्याएर बनाएका हौँ । केही स्थानमा सार्वजनिक जग्गा फिर्ता ल्याएर फलफूलका विरुवा लगाएका छौँ । वडा नम्बर २ का अध्यक्षको संयोजत्वमा सार्वजनिक जग्गा संरक्षण समिति बनाएका छौँ । अन्य ठाउँको पनि पहिचान गर्ने काम भइरहेको छ ।
नगरपालिकाको सेवा प्रवाह कसरी गरिहनुभएको छ ?
हेल्प डेस्कको व्यवस्था गरेका छौँ । सेवाग्राहीलाई हरेक सेवा दिन्छौँ । कार्यालयमै आउनेलाई निवेदन लेखिदिनेसम्मका सहयोग गर्छौँ । अनलाइनबाट घटना दर्ताको फारम भरेर काम गर्न सकिनेछ । सेवाग्राहीले कुनै असन्तुष्टि पोख्नुपर्ने अवस्था छैन । जनताको सेवा नै हाम्रो प्रमुख काम हो । सेवा प्रवाह छिटो छरितो र पारदर्शी छ । कसैले शक्तिको प्रयोग गर्न पर्दैन, दुई रुपैयाँ खर्च गर्नुपर्दैन ।
भ्रष्टाचार रोकथाम कसरी गर्नुभएको छ ?
भ्रष्टाचार भनेको भ्रष्ट आचरण हो, यो जो कोहीमा हुन सक्छ । हामीले सेवाग्राहीलाई दुःख दिने, लेनदेनको परिकल्पना गर्ने जस्ता काम भ्रष्टाचार हो । यस्ता काम यहाँ हुँदैन । भ्रष्टाचारमा शुन्य सहनशीलता अपनाएका छौँ । सेवाग्राहीले पनि कामका लागि कसैलाई पैसा खुवाउने काम गर्नु हुँदैन ।
कृषि र कृषकका लागि के गरिरहनुभएको छ ?
किसानहरुका लागि मल, बिउ, कृषि सामग्रीहरु अनुदानमा वितरण भइरहेको छ । ट्याक्टर, मिनि ट्याक्टर लगायतमा ५० प्रतिशत अनुदान दिएका छौँ । यही वर्ष २५ भन्दा धेरै किसानलाई निःशुल्क गाई वितरण गर्यौँ । उनीहरुलाई गोठ निर्माणका लागि नगद २ लाख रुपैयाँ सहुलियत दिएका छौँ । किसानले गर्न चाहेको काममा हामी सहयोगि बन्न तयार छौँ । व्यवसायिक रुपमा कृषिमा लाग्न चाहनेलाई हामी जस्तोसुकै सहयोग पनि गर्न तयार छौँ ।
कृषकले उत्पादन गरेका वस्तु विक्रिका लागि बजारको अवस्था कस्तो छ ?
कृषि बजार व्यवस्थापनको काम हुँदैछ । नगरपालिकास्तरीय कृषि बजारको परिपकल्पना गरेका छौँ । १५ करोडको डिपिआर भइसकेको छ । तर अहिले ठाउँ अभावका कारण रोकिएको छ ।
सीपमूलक तालिमको व्यवस्था छ कि छैन ?
सामुहिक रुपमा आएको अवस्थामा तालिमको व्यवस्था गरेका छौँ । यसै वर्ष २० जनालाई कपडाको झोला बनाउने तालिम दियौँ । व्यवसायिक उत्पादन सुरु भइसकेको छ । साबुन उत्पादन गर्ने कम्पनी बन्दैछ । सिलाईको तालिम दिइसकेका छौँ । अब अचार बनाउने तालिम पनि दिने योजना बनाएका छौँ । उद्यमशिलतालाई प्राथमिकता दिदै समाजवादतर्फ जाने लक्ष्य लिएका छौँ ।

































