वीरगन्जबाट तीन महिनामा आठ अर्बभन्दा बढीका सवारीसाधन आयात

वीरगन्जबाट तीन महिनामा आठ अर्बभन्दा बढीका सवारीसाधन आयात

पर्सा । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वीरगन्ज नाकाबाट करिब आठ अर्ब ७० करोड मूल्य बराबरका विभिन्न प्रकारका सवारीसाधन आयात भएका छन्। वीरगन्ज भन्सार कार्यालयका अनुसार सो अवधिमा सवारीसाधन आयातबाट सात अर्ब ७७ करोड राजस्व संकलन गरिएको छ।

भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार यो अघिल्लो वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो। गत आर्थिक वर्षको यही अवधिमा ६ अर्ब १९ करोड मूल्यका सवारीसाधन आयात हुँदै पाँच अर्ब ९५ करोड राजस्व संकलन भएको थियो ।

यस वर्ष तीन महिनामा मात्रै तीन अर्ब ४१ करोड मूल्यका २४ हजार ९३९ अनएसेम्बल्ड मोटरसाइकल आयात भएका छन्, जसबाट तीन अर्ब २८ करोड राजस्व प्राप्त भएको छ। यस्तै, ३३० वटा जीप, कार र भ्यान आयातबाट एक अर्ब ७५ करोड राजस्व संकलन भएको छ।

विद्युतीय सवारीसाधन आयातमा पनि वृद्धि देखिएको छ। चालु आवको तीन महिनामा ६८ करोड मूल्यका २२९ वटा विद्युतीय जीप, कार र भ्यान भित्रिएका छन्, जसबाट ४५ करोड ७२ लाख राजस्व उठाइएको छ। गत वर्षको यही अवधिमा १४ करोड मूल्यका ९७ विद्युतीय सवारीसाधन मात्र आयात भएका थिए ।

Tokha