झापा । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट एक अर्ब ३७ करोड ३० लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको चिया विदेश पठाइएको छ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार यो अवधिमा कुल ४६ लाख ८८ हजार ९३२ किलोग्राम चिया भारततर्फ निर्यात भएको हो ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्षको निर्यात उल्लेखनीय रूपमा घटेको छ। अघिल्लो वर्ष यसै समयमा दुई अर्ब २० करोड ४८ लाख रुपैयाँ बराबरको चिया निर्यात भएको थियो, जसको तुलनामा चालु वर्षमा निर्यात मूल्य ८३ करोड १७ लाख रुपैयाँले कम भएको कार्यालयले जनाएको छ।
भन्सारका अनुसार निर्यात घट्नुको कारण बजारमा मूल्य उतार-चढाव, अन्तर्राष्ट्रिय मागमा कमी र चिया उत्पादनमा आएको गिरावट हुनसक्ने अनुमान गरिएको छ।
































