काभ्रे । पटक-पटकको बाढी तथा पहिरोले बिग्रिएको बिपी राजमार्गको स्थायी पुनर्निर्माण कार्य औपचारिक रूपमा सुरू गरिएको छ । काठमाडौंलाई पूर्वी तथा मध्यपहाडी क्षेत्रसँग छोटो दूरीमा जोड्ने महत्वपूर्ण राजमार्गका काभ्रे-सिन्धुली खण्डमा करिब ३० किलोमिटर सडक क्षतिग्रस्त भएको थियो ।
डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार काभ्रेको चौकीडाँडा, मंगलटार र नार्के-गिम्दी क्षेत्रमा तीन स्थानबाट स्थायी पुनर्निर्माण थालिएको हो । यी खण्डहरूको निर्माण दुई वर्षभित्र पूरा गर्ने लक्ष्य छ । पुनर्निर्माणपछि सडकलाई दुई लेनमा विस्तार गरिने र पुलहरू पनि दोब्बर बनाइने कार्यालयले जनाएको छ ।
तीन सडक खण्डका लागि करिब पाँच अर्ब बराबरका ठेक्का सम्झौता भइसकेका छन् ।
१. ८.५ किमी डाला बेसी-चारसयबेँसी : १ अर्ब ४२ करोड ३७ लाख
२. ११.०८ किमी चारसयबेँसी-भकुन्डेबेँसी : १ अर्ब ३३ करोड ५३ लाख
३. ४.९० किमी नेपालथोक-बर्खेखोला : ६१ करोड
त्यस्तै बर्खेखोला-पिप्ले ३.२ किमी सडक जाइकाको सहयोगमा पुनर्निर्माण हुने छ। जापानले यसका लागि २ अर्ब ६३ करोड बराबरको अनुदान उपलब्ध गराउनेछ।
कुल २९.५ किमी क्षतिग्रस्त खण्डमध्ये अधिकांश भागका ठेक्का प्रक्रिया पूरा भएको र मंसिरको सुरुआतदेखि निर्माण तीव्र रूपमा अघि बढाइएको कार्यालयले जनाएको छ।
बिपी राजमार्ग जापानको सहयोगमा निर्माण भई २०७२ असारमा नेपाललाई हस्तान्तरण गरिएको हो । काठमाडौंलाई मध्यपहाडी र पूर्वी भूभागसँग जोड्ने यो मार्ग अहिले पुनर्निर्माणपछि थप सुरक्षित र दुवै लेनसहित आधुनिकीकरण हुँदैछ ।
































