रुपन्देही । नेकपा (एमाले) निकट मजदुर संगठन, अखिल नेपाल स्वतन्त्र मजदुर संघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष कमल गौतमको शुक्रबार निधन भएको छ।
भैरहवास्थित नेपाल विद्युत प्राधिकरणको कार्यालय अगाडि भएको विरोध प्रदर्शनका क्रममा उनी बेहोस भएका थिए । ट्रंकलाइन प्रयोगसम्बन्धी विवादका कारण बुटवल-भैरहवा औद्योगिक कोरिडोरका करिब १० उद्योगमा विद्युत आपूर्ति काटिएको भन्दै उद्योगी र मजदुरले संयुक्त रूपमा विरोध कार्यक्रम आयोजना गरेका थिए ।
विरोध प्रदर्शनमा मजदुरहरूको तर्फबाट भाषण गरिरहेका बेला गौतम अचानक ढलेका थिए । उनलाई तुरुन्तै मणिग्रामस्थित क्रिमसन अस्पताल लगिएको थियो, तर चिकित्सकले पुग्नेबित्तिकै मृत घोषणा गरेका थिए ।
अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालका अनुसार प्रारम्भिक परीक्षणमा हृदयघातका कारण मृत्यु भएको पुष्टि भएको छ। ६५ वर्षीय गौतम बुटवल उपमहानगरपालिका-३ ज्योतिनगरका स्थायी बासिन्दा थिए । उनको श्रीमती र दुई छोरा रहेका छन् ।
गौतम २०५४ सालदेखि नेकपा (एमाले) र जिफन्टमा सक्रिय रहँदै आएका थिए । उनी नेकपा (एमाले) का केन्द्रीय सदस्यसमेत हुन्।
































